असार २१, २०८२ शनिबार

शहिद नेत्र पार्कमा घुमाईफिराई एउटै काममा पटक–पटक लगानी

बिर्तामोड । झापाको बिर्तामोडमा तत्कालिन एमाले नेता नरेश खरेलले अगुवाई गरेर निर्माण गरेको शहिद नेत्र पार्कमा गरिएको लगानीमा आम नागरिकले चासो दिएका छन् । आर्थिक वर्ष ०७१-७२ देखि लगानी सुरु भएको पार्कमा करिव तीन करोड लगानी भइसकेको छ । तर, पार्कमा भएको लगानीको हरहिसाव व्यवस्थित छैन ।

तत्कालिन सांसद नरेश खरेलले सांसद विकास कोषबाट ४ लाख ८५ हजार लगानी गरेर निर्माण कार्य थालनी गरेको पार्कमा वर्षेनी लाखौं रुपैयाँ बजेट परेको छ । उक्त बजेटहरु खरेलले आफ्नै पहलमा लगानी भएको दावी समेत गरेका छन् ।

सुन्दर निचाझोडा सामुदायिक वनभित्र रहेको सानो खोल्सो खन्दैखन्दै सिमसार र त्यसपछि पार्कमा परिणत गरिएको थियो । पहिलो पटकको बजेटले सिमसार पोखरी खनिएको थियो । आर्थिक वर्ष ०७२-७३ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत पोखरीको बीच भागमा ढुङ्गाको पर्खाल लगाउन ८ लाख खर्च गरिएको छ । सोही आर्थिक वर्षमा सांसद विकास कोषको १ लाख लगानीमा गुरुयोजना समेत निर्माण गरिएको थियो ।

आ.व. ०७२÷ ७३ मै सिमसार पोखरी विस्तार गहिरो बनाउन ४ लाख २५ हजार, वन उपभोक्ता समूह मार्फत सिमसार पोखरी खन्ने अधुरो काम पुरा गर्न १ लाख, पर्यटन कार्यालय काँकरभिट्टाबाट विश्राम स्थल , घर तथा पोरखीको पानी निकाश गर्ने ठाउँको निर्माण गर्न ५ लाख, सिमसार पोखरीको खन्ने अधुरो काम पुरा गर्न फेरि ४ लाख २५ हजार ५ सय खर्च भएको सचिव टिका खरेलले दिएको विवरणमा उल्लेछ ।

यस्तै, आर्थिक वर्ष ०७३-७४ मा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट पाखेरीको बीच भागमा ढुङ्गाको पर्खाल थप, स्कुलमा घर मर्मत, साथै सहायक पोखरी निर्माण र २ वटा डुङगा खरिद गर्न २० लाख बजेट खर्च भएको देखिन्छ । सोही आ.व. मा सिमसार स्थल सरसफाई, खानेपानीको व्यवस्था, बाल मनोरञ्जनका सामग्री तथा पिकनिक घरको मर्मतका लागि सांसद विकास कोषबाट १० लाख, विर्तामोड नगरपालिकाको सशर्त बजेटबाट मुल प्रवेशद्वारा, बाल उद्यान निर्माण, डुङ्गा चढ्ने ठाउँको निर्माण, पिकनिक स्थल सरसफाईमा २५ लाख खर्च भएको छ ।

आर्थिक वर्ष ०७५ – ७६ मा बिर्तामोड नगरपालिकाबाट सशर्त बजेटबाटै पिकनिक घर, कम्पाउण्ड वाल, मिटिङ घर मर्मत, टिकट काउण्टर प्रवेशद्वार निर्माण र सरसफाईमा फेरि २५ लाख बजेट खर्च भएको सचिव टिका खरेल बताउँछन् ।
०७६-७७ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेत्र पार्कले स्वीमीङ इक्वीपमेन्ट स्लाइडर सेट तथा डाइनोसरका लागि बिर्तामोड नगरपालिका मार्फत ५० लाख खर्च गरेको छ । यस्तै, ०७६-७७ मा पहिलो पटक १५ लाख कम्पाउण्ड वाल, स्वीमीङ पुल तथा चेन्जिङ रुम निर्माणका लागि उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख बजेट खर्च गरेको देखिन्छ ।

आ.व. ७७-७८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याण्ड स्कीपिङ एण्ड गार्डेनिङ शिर्षकमा २५ लाख खर्च गरेको थियो । प्रदेश सरकार विराटनगरले सोही आर्थिक वर्षमा कम्पाउण्ड वाल तथा घेरावाराका लागि ४५ लाख खर्च गरेको निर्माण समितिका सचिव खरेलले जानकारी दिए ।

नरेश खरेल अध्यक्ष र टिका खरेल सचिव भएको समितिले शहिद नेत्र पार्क निर्माण गरेको हो । सचिव खरेलले दिएको विवरण अनुसार एउटै शिर्षकमा पटक–पटक बजेट खर्च गरेको पाइन्छ । कम्पाउण्ड वाल निर्माणको लागि मात्रै तीन पटक बजेट खर्च गरेको प्राप्त विवरणमा उल्लेख छ । पर्यटकीय स्थल निर्माणका लागि विभिन्न व्यक्तिको नेतृत्वमा समिति बने पनि धेरै काम खरेलको नेतृत्वमा सम्पन्न भएको स्थानीय बताउँछन् ।

उक्त पार्क सञ्चालन नहुनुमा वन समितिको कमजोरी रहेको तत्कालिन निर्माण समितिका अध्यक्ष नरेश खरेलको भनाई छ । अहिले पार्क निर्माण समितिको गैरजिम्मेवारी र वन समितिको संरक्षण अभावले वेवारिसे बनेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]