सभामुखको राजीनामा गराएर कांग्रेसका थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।
साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछि प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए ।
त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधान विपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।
अहिले माओवादीबाट निर्वाचित सभामुख गौतमलाई राजीनामा गराएर गठबन्धनले सरकारको दाबी गरेको हो ।
थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
केही समयअघि मात्रै काठमाडौबाट विराटनगर आएर गौतमले सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।