एमालेमा छुवाछूत गर्नेको पार्टी सदस्यता नै खोसिन्छ : भट्टराई
बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईले छुवाछूत गर्नेको पार्टी सदस्यता समाप्त हुने बताएका छन् । उनले एमालेको जो कोहि पार्टी सदस्यले छुवाछूत वा बहुविवाह गरेमा पार्टी सदस्यता नै खोसिने विधानमा स्पष्ट भएको बताए ।
नेकपा एमाले झापाका पदाधिकारी र नेपाल उत्पीडित जातीय मुक्ति समाजबीच आज बिर्तामोडमा आयोजित अन्तरक्रियामा बोल्दै इञ्चार्ज भट्टराईले पार्टीले जातीय भेदभाव तथा छुवाछूत गरेको प्रमाणका आधारमा तुरुन्तै कारबाही गर्ने बताए । एमाले दलित मुक्तिको लागि लामो समयदेखि क्रियाशिल रहेको र सोही बमोजिम संविधानमा दलित अधिकार समावेश गरेको उनको भनाई थियो ।
समाजमा रहेका सबै खाले विभेद विरुद्ध सबैभन्दा खरो उत्रिने पार्टी एमाले भएको भन्दै भट्टराईले एकतावद्ध ढंगबाट विकृति विरुद्ध सामुहिक आवाज उठाउन अपील समेत गरेका छन् ।
अन्तरक्रियामा मुक्ति समाजका महासचिव खेम नेपालीले दलितका मुद्धालाई पार्टीले वेवास्था गर्न नहुने बताएका छन् । उनले संख्याका हिसावले दलित समुदाय ठुलो रहेको र निर्णायक समेत रहेको बताउदै समस्यामा रहेको समुदायको उत्थानका लागि पार्टीलाई सचेत गराएका छन् । उनले भेदभाव विरुद्ध साझा अभियान सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।
यस्तै, मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले दलित समुदायका मुल समस्या छुवाछूत र गरिवी रहेको बताए । उनले मुक्ति समाजको केन्द्रीय कार्यक्रम अन्तर्गतको अन्तरक्रियामा दलित समुदायलाई छुवाछूत र गरिवीबाट मुक्त गर्नुपर्ने धारणा राखे । उनले देशभर दलित समुदायमाथि भइरहेको घटनामा पार्टीले संस्थागत रुपमा बोल्नुपर्ने बताए । पोर्तेलले भने – दलितको समस्या सबैको साझा मुद्धा नबनेसम्म समाधान हुन सक्दैन । यसैले पार्टीले समुदायको हितमा खुलेर बोल्नुपर्छ ।
नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले विगत देखि नै एमाले दलितको पक्षमा बलियो ढंगबाट उभिदै आएको बताए । उनले दलित मुक्तिका लागि एमाले सधैं अग्रपंतीमा रहने बताएका छन् । कार्कीले दलित समुदायका समस्याहरुमा पार्टीले सबै किसिमको अगुवाई गर्न तयार रहेको बताए । उनले जातीय मुक्तिको लागि आन्तरिक एकतालाई पनि बलियो बनाउन आग्रह गरेका छन् ।
संगठनका झापा अध्यक्ष तिलक गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जिम्मेवारीमा रहेका मुक्ति समाजका नेताहरुले मुक्ति आन्दोलनलाई रचनात्मक बनाउने सन्दर्भमा सूझाव सहित धारणा राखेका थिए ।