बिर्तामोडका टमाटर व्यापारीलाई ११ लाख नोक्सान : सशस्त्रले रकम साट्ने ठाउँसम्म पुग्न नदिएको गुनासो
बिर्तामोड । भारतको सिलिगुडीस्थित सब्जी मण्डीमा पाँच पिकअप टमाटर बेचेर फर्किएका व्यापारीलाई लाखौं रुपैयाँ नोक्सान भएपछि न्यायको लागि सार्वजनिक आव्हान गरेका छन् । उनले ११ हजार केजी टमाटर बेचेर फर्किदा ११ लाख गुमाउनु परेपछि न्यायको माग गरेका हुन् ।
गत साउन २४ गते राती ९ बजेर ३ मिनेटमा बिर्तामोडको कृषिथोकका व्यापारी खगेन्द्र महतोलाई सशस्त्र प्रहरीको काँकरभिट्टा गुल्मले नियन्त्रणमा लिएको थियो । महतोले आफुलाई सशस्त्रले कार्यक्षेत्र बाहिरबाट पक्राउ गरेको दावी गरेका छन् । मेची भन्सारको कागजात देखाउदा पनि सशस्त्र प्रहरीले रातभर केरकार गरेर राती नै राजश्व अनुसन्धान कार्यालय इटहरी लगेको थियो ।
उनले भन्सारको गेट नं. १ र २ भित्र सशस्त्र प्रहरीले चेकजाँच गर्न नपाउने जानकारी दिए । राजपत्रमा उल्लेख भए अनुसार लक्ष्मी नारायरण मन्दिर देखि पश्चिम मात्रै सशस्त्रले मालसामान चेकजाँच तथा जफत गर्न पाउने व्यवस्था रहेको बताइएको छ ।
यता, सशस्त्र प्रहरी गुल्मका डिएसपी निर्मल थापाले कार्यक्षेत्र भित्रै नियन्त्रणमा लिएको दावी गरेका छन् । उनले नेपालभित्र प्रतिबन्धित नोट सहित फेला पारेपछि सम्बन्धित निकायमा बुझाएको प्रतिक्रिया दिए । भारतमा गएर नियन्त्रणमा लिएको होइन, नेपालभित्रै चेकजाँच गर्दा प्रतिबन्धित नोट फेला परेको हो, डिएसपी थापाले भने ।
सशस्त्रले ९ बजेर ३ मिनेटमा नियन्त्रणमा लिए पनि ११ बजेर ५० मिनेटमा पक्राउपुर्जी जारी गरेको थियो । सबै कागजात देखाउदै व्यापारी महतोले आफुले कानुन विपरित कुनै काम नगरेको भन्दाभन्दै दवाव दिएर हस्ताक्षर गर्न लगाएको बताएका छन् । सो समयमा किसानहरुले समेत सशस्त्र प्रहरीलाई आफ्नो बारीको टमाटर बेच्न पठाएको र जफत गरिएको रकम किसानहरु भएको जानकारी गराएका थिए । किसानले आग्रह गर्दा पनि सशस्त्र प्रहरीले धेरै दवाव दिएर उनलाई हस्ताक्षर गर्न बाध्य बनाएको थियो ।
व्यापारी महतोले भन्सार गरेर विक्री गरेको टमाटरको पैसा लिएर आउने क्रममा उनलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात महतोले भन्सारको कागजात र विल विजक समेत सशस्त्र प्रहरीलाई देखाएका थिए । तर, सशस्त्र प्रहरीले नियतका साथ उनलाई मध्यरातमा इटहरी लगेको थियो ।
सशस्त्र प्रहरीले प्रतिवन्धित भारतीय रुपैयाँ बोकेको कसुरमा इटहरी लगेपछि राजश्व अनुसन्धानले उनलाई ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी लिएको छ । र, उनको साथमा रहेको मोटरसाइकल समेत राखेर घर फर्काएको थियो ।
सटही काउन्टरबाट पैसा साटेर घर जाने योजना थियो, उनले भने – पैसा साटेर घर जान्छु वा भारततिरै फर्किन्छु भन्दा पनि सशस्त्रले जवरजस्ती गुल्म लगेर केरकार गर्यो । गुल्ममा सबै कागजात मागेर घर जान दिने आश्वासन दिए पनि कागजात बुझाइसके पछि कारबाहीका लागि इटहरी पुराएको महतोको भनाई छ ।
व्यापारी महतोले भारु १ सय , २ सय र ५ सयका नोट लिएर आएका थिए । उनले सटही गरेर जान पाउने व्यवस्था हुँदा हुदै सशस्त्रले उनको सबै रकम तत्कालै जफत गरेको थियो । भारत सरकारले नेपाली टमाटर आयात गर्ने निर्णयपछि उनले सिलिगुडीसम्म टमाटरको व्यापार सुरु गरेका थिए ।
नेपाली कृषि उत्पादनलाई भारतमा विक्री गरेर किसानलाई समेत राम्रो आम्दानी गराउने हुँदा ११ लाख क्षति व्यहोर्नु परेको छ । उक्त समयमा किसानले ९० देखि ११५ रुपैयाँ प्रति केजी मुल्य पाएका थिए । पाँचथर, धनकुटाबाट खरिद गरेर ल्याएको टमाटर भारतमा विक्री गर्न लगिएको थियो ।
आफु अन्यायमा परेको भन्दै व्यापारी महतोले सबै व्यापारिक संघ संस्था, सरोकारवाला र राजनीतिक दलहरुलाई न्याय दिलाई दिन आव्हान गरेका छन् ।