जेष्ठ ४, २०८२ शनिबार

ऋण असुली नहुँदा समस्यामा शिखर सहकारी

बिर्तामोड । झापामा पपुलर सहकारीको रुपमा स्थापित शिखर बचत तथा ऋण सहकारी संस्था यतिवेला आर्थिक संकटको चपेटामा परेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संस्थाले विभिन्न आरोप खेप्दै आइरहेको छ ।

गत पुस महिनादेखि तरलताको मारमा परेको शिखर सहकारीले अझै सदस्यहरुको बचत फिर्ता गर्न सकिरहेको छैन । सहकारीले न्यूनतम रकम पनि सहजै फिर्ता दिन नसकिरहेको कतिपय बचतकर्ताको आरोप छ । ०७९ पुसदेखि समस्यामा परेको शिखरले महिनौ वित्दा पनि संस्थालाई सहजै सञ्चालनको वातावरण बनाउन सकेको छैन ।

शिखर सहकारीका अध्यक्ष दिपेन्द्र राउतका अनुसार ०८० साउन मसान्तसम्म संस्थाले जम्मा ४६ करोड २३ लाख ४७ हजार ५१६ रुपैयाँ कर्जा लगानी गरेको तथ्याङक छ । सहकारीका सञ्चालकहरुले मात्रै ६ करोड ३८ लाख रुपैयाँ कर्जा लिएको तथ्याङकमा उल्लेख छ । शिखरबाट सदस्यहरुले ३९ करोड ३८ लाख ६८ हजार ७९४ रुपैयाँ कर्जा लिएको अध्यक्ष राउतले जानकारी दिए । उनका अनुसार सहकारीमा कार्यरत कर्मचारीहरुले ४६ लाख २१ हजार ६५० रुपैयाँ कर्जा लिएका छन् । साउन मसान्तको विवरण अनुसार बचतकर्ता सदस्यको संख्या ८ हजार ५७२ र ७०५ जना ऋणी सदस्य छन् ।
शिखर सहकारीले संस्थामा तरलता समस्यापछि १८ करोड ४२ लाख ५१ हजार ९९ रुपैयाँ बचत फिर्ता गरेको जनाएको छ । सोही समयावधिमा १७ करोड ५७ लाख ५६ हजार २७९ रुपैयाँ ऋण असुली गरेको अध्यक्ष राउतले जानकारी दिएका छन् ।

झापाको गरामनी र बाह्रदशीस्थित राजगढमा सेवा केन्द्र सञ्चालन गर्दै आएको सहकारीले ऋण असुलीमा समस्या भएकै कारण संस्थाले यो अवस्था व्यहोर्नुपरेको जनाएको छ । अध्यक्ष राउत भन्छन्, सबै बचत रकम ऋण लगानी गरिएको छ । असुली नहुँदा समस्या आइलागेको हो । विस्तारै समाधान हुने अपेक्षा गरेका छौं ।

०७९ माघको तेस्रो सातादेखि तरलता अभाव भएपछि सदस्यहरुले मागेजति बचत रकम फिर्ता गर्न नसकेको अध्यक्षको स्वीकारोक्ती छ । फागुनको १६, १७ र १८ गते बिर्तामोड, गरामनी र राजगढका सदस्यहरुसँग संस्थाको बारेमा जानकारी गराउन भेला नै आयोजना गरिएको थियो । त्यसयता पनि समस्या समाधानतिर नगएपछि सञ्चालकहरुलाई बचत फिर्तामा कठिनाई भइरहेको छ । बचतकर्ताले एकै पटक लाखौं लाख रुपैयाँ फिर्ता माग्न जाँदा सहकारी अप्ठ्यारोमा परेको हो ।

प्राप्त विवरण अनुसार गत शिखरको गत साउन मसान्तमा दैनिक बचत २० करोड २३ लाख, मासिक बचत १२ लाख ५५ हजार, ६ वर्षे क्रमिक बचत २ करोड ५६ लाख ४८ हजार, १ वर्षे मुद्दती ३ करोड ९८ लाख , ३ महिने मुद्दती ३७ लाख ४९ हजार, ६ महिने मुद्दति १ करोड ६ लाख ७० हजार, साप्ताहिक बचत ७ लाख ३३ हजार, ३ वर्षे क्रमिक बचत १७ लाख ८६ हजार र १ वर्षे क्रमिकमा २ करोड २ लाख ११ हजार देखिन्छ ।

शिखरले गत पुस ३० गतेसम्म शिखर व्यवसायिक कर्जा तर्फ बिर्तामोडमा १४ करोड ४३ लाख, गरामनीमा २ करोड ६६ लाख ७० हजार, राजगढमा १ करोड ३२ लाख लगानी गरेको छ । धितो कर्जा अन्तर्गत बिर्तामोडमा २९ करोड ७७ लाख, गरामनीमा १ करोड ६९ लाख, राजगढमा १ करोड ८७ लाख लगानी गरेको छ । छोटो अवधि कर्जा, व्यक्तिगत कर्जा, कृषि कर्जा, सवारी कर्जा, बीमा कर्जा, सुरक्षित कर्जा, मुद्दति धितो कर्जा, अवधि कर्जा शिर्षकमा संस्थाले लगानी गरेको अध्यक्ष राउतले जानकारी दिए । संस्थाले करिव ६५ लाख सवारी कर्जा प्रदान गरेको छ भने कृषि कर्जा लगानी न्यून छ ।

गत पुस ३० गते ८५ सय ६४ शेयर सदस्य रहेको सहकारीमा साउन मसान्तमा आउँदा ३ जना थपिएका थिए । पुसमा ५ करोड ४१ लाख ४१ हजार ३ सय रुपैयाँ रहेको शेयर रकम घटेर ४ करोड ३८ लाखमा झर्यो । सोही समयभित्र ५७ करोड २९ लाख ६८ हजार रहेको बचत ३८ करोड ८७ लाख १७ हजारमा झरेको थियो । ६३ करोड ८१ लाख ऋण लगानीबाट साउनमा आइपुग्दा ४६ करोड २३ लाख भएको छ । सो समयमा ५० लाख बाह्य ऋण बढेको प्राप्त विवरणमा उल्लेख छ । पुस मसान्तमा ३३ लाख ६२ हजार तरलता रहेको संस्थामा साउन मसान्तमा आइपुग्दा ७८ हजार १२४ रुपैयाँ देखिन्छ ।

संस्थाका अध्यक्ष राउतले सहकारीमा देखिएको तरलता अभावपछिको समस्या समाधानमा निरन्तर क्रियाशिल रहेको जानकारी दिए । उनले बतचकर्ताहरुलाई बचत रकम सुरक्षित रहेको भन्दै विश्वस्त रहन आग्रह गरेका छन् । सबै रकम ऋण लगानी भएको छ । ऋण असुलीमा गम्भीरताका साथ लागि परेको राउतले बताए । उनका अनुसार अहिले पनि बचतकर्ताको रकम अलिअलि गर्दै फिर्ता गरिहरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]