अभियान नेपालको साधारणसभामा ८ जना सम्मानित
तिलक योञ्जन
अर्जुनधारा । अभियान नेपाल बहुउदेश्यीय सहकारी संस्था लि.को २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडास्थित खुदुनाबारी बजारमा मुख्य कार्यलय भएको सहकारीले जनता माविको सभाहलमा शनिवार २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधरणसभाको अवसरमा सहकारीले अर्जुनधारा–३ का अग्रज जेष्ठ नागरिक तथा समाजसेवी मुक्तिनाथ खतिवडालाई सम्मान गरेको छ । १ सय ३ बर्षिय जेष्ठ नागरिक खतिवडालाई संस्थाले अग्रज अभिभावकको रुपमा सम्मान गरेको संस्थाका संचालक समिति सदस्य हरि वाग्लेले जानकारी दिए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नगर सहकारी समन्वय समिति अर्जुनधाराका संयोजक कृष्णप्रसाद चापागाई, संबिधानसभाका सदस्य प्रेम गिरी, संस्थाका अध्यक्ष लोकमान श्रेष्ठ, उपाध्यक्ष चन्द्रामाया तामाङ लगायतले फुलमाला, दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
त्यस्तै सहकारीले जेष्ठ शेयर सदस्यको रुपमा अर्जुनधारा–३ की नरमाया दर्जी र अर्जुनधारा–२ का इश्वरी प्रसाद निरौलालाई सम्मान गरेको छ । त्यसैगरि संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा बित्तीय साहयक जिम्मेवारीमा रहेका सोमनाथ कट्टेललाई नगद १० हजार सहित सम्मान गरेको संस्थाका व्यवस्थापक शिव राईले जानकारी दिए । सम्मानित भएका सबैलाई फुलमाला, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
बार्षिक साधारणसभाकै अवसरमा अभियान नेपालले उत्कृष्ट कारोबार गर्ने ३ जना शेयर सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । उत्कृष्ट शेयर कारोबार तर्फ अर्जुनधारा–३ का गणेशप्रसाद आचार्य र उत्कृष्ट बचत कारोबार तर्फ अर्जुनधारा–२ की कोपिला बराल र उत्कृष्ट बित्तीय कारोबार तर्फ अर्जुनधारा–२ की सुजता सुवेदीलाई दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सेवा निवृत हुनुभएका कर्मचारी रामचन्द्र भण्डारीलाई कदरपत्र र मायाको चिनो प्रदान गरेर विदाई गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष लोकमान श्रेष्ठले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । आर्थिक बर्ष २०७८÷७९ मा १ करोड ४५ लाख ६५ हजार ४ सय रुपैयाँ रहेको शेयर पूँजी गत आ.व.२०७९÷८० मा १४ लाख ११ हजार ३ सयले वृद्धि भएर १ कोड ५९ लाख ७६ हजार ७ सय रुपैयाँ पुगेको सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सहकारीले गत आ.व.२०७९-८० मा ११ लाख १२ हजार ७ सय २७ रुपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
२०५९ सालमा स्थापना भएको सहकारीमा हाल ६ सय ७९ जना शेयर सदस्य आवद्ध छन् । अभियान नेपाल बहुउदेश्यीय सहकारीले विपन्न बिद्यार्थीलाई क्षात्रवृत्ति प्रदान, स्वरोजगार कर्जा, जग्गा तटबन्धन, सदस्य उपचारमा सहयोग लगायतका कार्यक्रमहरुमा लगानी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले गत साधारणसभाबाट पास भएको संस्थाको नीति, कार्यविधि एवम निर्देशिका कार्यान्वयनमा आएको समेत जानकारी गराउनु भएको थियो ।