जेष्ठ ११, २०८२ शनिबार

लोकतान्त्रिकलाई भारी बनेको स्वतन्त्र प्यानल

बिर्तामोड । स्वतन्त्र व्यवसायिक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुन कुमार मैनालीले सिमित मान्छेको मुठ्ठीबाट बिर्तामोड वाणिज्य संघलाई मुक्ति दिन आवश्यक रहेको बताएका छन् । उनले सिमित मान्छेलाई मुक्ति नदिएसम्म वाणिज्य संघले व्यावसायिको हितमा काम गर्न नसक्ने बताए ।

आज प्रचारप्रसार सकेर आचारसंहिता लागू हुनुअघि पत्रकारहरुसँग कुरा राख्दै अध्यक्षका उम्मेदवार मैनालीले व्यवसायीको हितमा काम गर्न वाणिज्य संघलाई व्यवसायीले नै नेतृत्व गर्न आवश्यक रहेको बताए । गैर व्यवसायीबाट वाणिज्य संघको नेतृत्व नहुने उनको दावी छ । वाणिज्य संघलाई राजनीतिक संस्थाको रुपमा प्रयोग गर्ने वेथिती सुधारका लागि स्वतन्त्र प्यानल उच्च मनोवलका साथ आएको बताए । उनले स्वतन्त्र प्यानल निर्वाचित हुनेमा विश्वस्त रहेको पत्रकारहरुलाई बताएका थिए ।

व्यवसायीहरुले लोकतान्त्रिक प्यानलले कुनै प्रतिवद्धता नल्याएको बताएका थिए, मैनाली भने – ‘हामी २९ प्रतिवद्धतासहित प्रचारप्रसारमा गएका थियौं । निर्वाचित भएर प्रतिवद्धताहरु पुरा गर्नेछौं । उनीहरुसँग व्यवसायीले प्रतिवद्धता पाउन सकेनन् ।’

जिम्मेवार व्यवसायीहरुले मतदानमा कुनै गल्ती गर्न नहुने उनको भनाई छ । एउटा गल्तीका कारण बिर्तामोडलाई ठुलो असर गर्ने बताउँदै सक्षम नेतृत्व स्थापित गर्न आग्रह गरे । प्रभावकारी योजनासहित व्यवसायीको हितमा काम गर्ने योजना राखेका उनले बिर्तामोडको सुन्दर भविष्यका लागि स्वतन्त्र प्यानलमा मतदान गर्न आग्रह गरेका छन् ।

मैनाली पक्षको मनोवल उच्च
स्वतन्त्र व्यवसायीक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुन मैनालीलाई एमाले सहित अन्य चार वटा दल समर्थक व्यवसायीहरुले सहयोग गरेका छन् । एमालेसहित माओवादी, राप्रपा र रास्वपा समर्थक व्यवसायीहरु लोकतान्त्रिक प्यानल विरुद्ध एक भएका छन् ।

कुनै पनि हालतमा जीत निकाल्न स्वतन्त्र प्यानलले जोड गरिरहेको छ । धेरै समर्थक व्यवसायीहरुको बलबाट जीत निकालेर वाणिज्य संघमा नयाँ नेतृत्व स्थापित गर्ने दाऊमा स्वतन्त्र प्यानल देखिन्छ । सधैं लोकतान्त्रिक प्यानलले जीत निकाल्दै आएको वाणिज्य संघमा यो पटक प्रतिष्पर्धी स्वतन्त्र प्यानलको उम्मेदवारहरु विगतमा भन्दा बलियो भएको चर्चा छ ।

यो निर्वाचनमा स्वतन्त्र प्यानलले प्राप्त गरेको समर्थन जीतका लागि पर्याप्त भए पनि मतगणनासम्म पर्खनै पर्ने देखिन्छ । एउटै समूहले नेतृत्व गर्दै आएको वाणिज्य संघमा मतदानले फरक परिणाम ल्याउने आँकलन अधिकांशको छ । वाणिज्य संघमा नयाँ अनुहार चाहेको बिर्तामोडका व्यापारीहरुले प्रतिक्रिया दिदैं आएका छन् । वाणिज्य संघलाई प्रभावशाली संस्था बनाउन मतदाताहरुको जोड छ ।

अहिलेसम्मकै कमजोर उम्मेदवार 
बिर्तामोड उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई अध्यक्षको उम्मेदवार सार्वजनिक गर्न कठिनाई भयो । उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय लिन कांग्रेसलाई निकै समस्या थियो । वर्तमान अध्यक्ष प्रकाश शिवाकोटीलाई दोहोर्याउने कि न्यौपानेलाई टिकट दिने अन्यौलका कारण कांगे्रसले आफ्नै पार्टीभित्र निर्णय लिन ढिलाई गरेको कांग्रेस समर्थक एक व्यवसायी बताउँछन् । स्वतन्त्र प्यानलका अध्यक्षका उम्मेद्वार फाइनल गरेको झण्डै एक महिनापछि लोकतान्त्रिक प्यानलले न्यौपाने नै अध्यक्ष हो भनेर चर्चा गरेको थियो ।

पार्टीले नभनी सुरुबाटै मत माग्दै हिडेपछि अध्यक्षको टिकट पनि राजु न्यौपानेले पाए । तर, उनको नेतृत्व शैली र सहकार्य समन्वयमा अत्यन्त्यै कमजोर मानिन्छ । कुनै पनि मुद्धामा उपस्थिति जनाउने तर निष्कर्ष दिन नसक्ने न्यौपाने समाधानको सट्टा झैझगडामा उत्रिहाल्ने पात्रका रुपमा परिचित छन् । जसले उनको लोकप्रियतामाथि अंकुश लगाएको छ ।

संघको बरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेका न्यौपानेले कार्यकालभर स्थानीय सरकारसँग पूर्वाग्रही ढंगबाट लफडा मात्रै झिकिरहे । जसले निकास भन्दा धेरै द्वन्द्वको वातावरण बनायो । वाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई जसैगरी यो पटक साख बचाउनुपर्नेछ । अहिलेसम्मकै कमजोर उम्मेदवार मानिएका न्यौपानेलाई जिताउन सक्ने, नसक्ने भन्नेमा लोकतान्त्रिक प्यानल धरमर देखियो ।

दुवै पक्षले निर्वाचनमा आफ्नो जीत हुने दावी गरिरहे पनि मतदाताको मत नै परिणामको अन्तिम आधार हुनेछ । दुवै प्यानलले प्यानलकै लागि मत मागिरहेको छ । तर, बजारमा मतदाताहरु मन परेका उम्मेदवारहरु विजयी गराउने धारणा व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]