फागुन १७ देखि बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवल
बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवलको आयोजना हुने भएको छ । होटल व्यवसायी संघ झापाको आयोजनामा तेस्रो सडक फुड फेस्टिवलको आयाजना गर्न लागिएको हो ।
बिर्तामोड–३ सैनिक मोड (मेची आँखा अस्पताल पश्चिम) मा तेस्रो सडक फुड फेस्टिवलको आयोजना गरिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार फागुन १७ देखि चैत ७ गतेसम्म फेस्टिवल सञ्चालन हुने उनको भनाई छ । राती ९ बजेसम्म सञ्चालन हुने फेस्टिवलमा ३० वटा स्टल रहनेछन् । फुड फेस्टिवलले कोभिडले कमजोर भएको होटल व्यवसायको क्षेत्रमा राहत हुने जानकारी दिइन् । श्रेष्ठले व्यवसायीहरुको माग अनुसार नै कार्यक्रम स्थल छनौट गरिएको आज आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
दैनिक सांस्कृतिक झाँकीहरु प्रदर्शन हुने कार्यक्रममा स्थानीय जातजातिका खानपान परिकारहरु स्टलमा राखिने छ । रैथाने तथा लोप हुँदै गएका परिकारहरुको प्रचारसँगै संरक्षणका लागि फुड फेस्टिवलले सहयोग पुग्ने विश्वास गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटनको लागि समेत फुड फेस्टिवलले प्रचारप्रसारमा सहयोग गर्ने आयोजनाको भनाई छ । आर्थिक मन्दीले सुस्ताएको व्यापार क्षेत्रलाई चलायमान बनाउन आयोजना गरेको फेस्टिवलमा अर्गानिक कृषि प्रदर्शनहरु रहने छन् ।
सयपत्री इन्टरटेन्टमेन्टले प्राविधिक सहयोग गर्ने फेस्टिवलमा नेपाल पर्यटन वोर्डको सहकार्य रहने बताइएको छ ।