जेष्ठ ११, २०८२ शनिबार

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने

बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ ।

दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो ।

कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो ।

झापामा यो वर्ष ५ बर्ष मुनिका ६९ हजार २ सय ९९ जना र ५ देखि १५ वर्ष उमेर समुहका २ लाख ४५ हजार १ सय ११ जनालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाह्रकोटीले जानकारी दिए ।

झापामा ९ सय ४७ वटा खोप केन्द्र मार्फत खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । उनका अनुसार ३ सय ९ जना स्वास्थ्यकर्मी र १७ सय १७ जना स्वास्थ्य स्वयमसेवीका खोप अभियानमा खटिनेछन् ।

झापामा पहिलो मात्राको खोप लागएका ९८ प्रतिशत बालबालिकाले मात्रै दोस्रो मात्राको खोप लगाएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले खोप पुरा नभएका सम्पूर्ण बालबालिकालाई खोप लगाउन आग्रह समेत गरेको छ ।
जिल्लाको झापा गाउँपालिकामा केही समय अघि मात्रै ६ जना दादुराका रोगी फेला परेका थिए । उक्त समयमा बिर्तामोड र दमकमा समेत एक एक जनामा दादुराको संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

देशब्यापी रुपमा फागुन १३ गतेबाट नै अभियान संचालन भएको छ । अभियान अन्तर्गत तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ बर्ष उमेर सम्मका बालबालीकालाई खोप लगाईने बताइएको छ । अन्य जिल्लामा भने ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइने छ ।

नेपालमा सन् २००३ बाट सुरु गरिएको अभियान अन्तर्गत सन् २०२६ सम्ममा पूर्णरुपमा दादुरा रुबेला मुक्त बनाउने लक्ष्य रहेको छ । यस अघि सन् २०१३ र २०२३ मा दादुरा रुबेला मुक्त बनाउने लक्ष्य राखिए पनि दुवै पटक अभियान सफल हुन सकेको थिएन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]