झापा गोल्धापमा फागुन २१ गते हुने बृहत जनवादी गीति कार्यक्रमको तयारी पुरा
बिर्तामोड । झापामा पहिलो पटक हुन लागेको जनवादी गीति कार्यक्रम – २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आज बाह्रदर्शी -५ स्थित कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।
शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानले फागुन २१ गते आयोजना गर्ने बृहत जनवादी गीति कार्यक्रमको तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनले शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानको प्राङगणका कार्यक्रम आयोजना गरिएको बताए ।
सनलाइट म्यूजिक स्टुडियो बिर्तामोडको सांगीतिक व्यवस्थापनमा हुने कार्यक्रममा २ हजार ५ सय जना सहभागी हुने बताइएको छ । पूर्ण रुपमा सांगीतिक एवम् मनोरञ्जनात्मक हुने कार्यक्रममा जनवादी गायक राजन राईले ८ वटा गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा गणतन्त्र पक्षधरहरुलाई निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
नेकपा एमालेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम स्थल निर्माण सम्पन्न गरिएको छ । पार्किङदेखि शौचालयको समेत व्यवस्थापन भइसकेको छ ।
गणतन्त्र पक्षधरहरुलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले व्यवस्था परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने जनवादी कलाकारहरुको मान सम्मान र महत्वलाई उजागर गर्ने प्रतिष्ठानका सहसचिव अनिल सापकोटाले जानकारी दिए ।
प्रजापति सापकोटलाई राष्ट्रिय शहिद घोषणा गर्न माग गर्दै आएको प्रतिष्ठानले फागुन २१ को कार्यक्रमबाट थप दवाव दिने जानकारी दिएका छन् । सोही अवसरमा प्रतिष्ठानले घटनाका समकक्षीहरु र जग्गादाताहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
आज स्थानीय गोल्धाप बजारको सरसफाई गरिएको छ भने कार्यक्रमको दिन पहिलो चरणमा रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
०४३ सालमा उग्र पञ्चायत समर्थकहरुको आक्रमणबाट सापकोटाको हत्या गरिएको थियो । कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगितसहित आयोजना गरिएको देउसीभैलामा निरंकुश पञ्चायती समर्थकहरुले सुनियोजित रुपमा आक्रमण गर्दा सापकोटाले सदाहत प्राप्त गरेको प्रतिष्ठानका सचिव रुद्र प्रसाद सेडाईको भनाई छ ।