बिर्तामोडमा शिवको ‘उत्पत्ति’ भएको भन्दै हेर्नेको घुँइचो
बिर्तामोड । झापाको बिर्तामोड- १ मा शुक्रवार विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको थियो ।
धार्मिक अनुयायीहरुले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन् । शिवको उत्पत्ति भएको खवर सुनेपछि दिनभर हेर्ने र पुजा गर्नेहरुको भीड लागेको थियो ।
शिवरात्रीकै दिनमा उत्पत्ति भएको भन्दै धेरैले विश्वास गरेको प्रतिक्रिया दिए । कतिपयले कमाउने मेलो हुन सक्ने भन्दै आशंका समेत व्यक्त गरेका छन् । आचार्यको घर नजिकै ३ः३० बजे विहान ठुलो आवाज आएको थियो । ठुलो आवाज आएको सुनेर आचार्यको परिवारसहित छिमेकीहरुले बाहिर हेर्दा शिवको प्रतिमा देखेका थिए ।
पहेलो रंङमा देखिएको उक्त प्रतिमामा पुजा गरेर पैसा चढाउनेहरुको शुक्रवार ठुलो भीड थियो ।
माता आचार्यले तीन दिनअघि नै शिवको मुर्ती प्रकट हुने आफुले थाहा पाएको बताइन् । उनले शिवको मुर्ती प्रकट भएको समयमा घरका सबै ढोकाहरु खुलेको, ढुङगा गिरी झरेजस्तो आवाज आएको सुनाइन् । मैले हरेक वर्ष केहि न केहि प्राप्त गरिरहेको छु, उनले भनिन् – यो वर्ष भगवान नै प्राप्त भयो । आफुलाई लोकको कल्याण गर्ने मौका मिलेको रहेछ ।