जेष्ठ १०, २०८२ शुक्रबार

झापा एमालेको अध्यक्षमा दुई जनाको दावेदारी, युवाको प्रतिनिधित्व १५ प्रतिशत

बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटी झापाको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनमा ७ सय हाराहारी प्रतिनिधि हुने छन् ।

पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङगेल आकांक्षी रहेका छन् । दिपक कार्की केन्द्रीय सदस्यमा मनोनित भएपछि गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।

अधिवेशन सम्पन्न गर्नका लागि बैठकले कार्यवाहक अध्यक्ष गिरीको संयोजकत्वमा मुल व्यवस्थापन समिति बनाएको छ । सचिव शिव ढुङगेलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति बनाइएको छ । अधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखन उपसमिति, सांगठानिक प्रतिवेदन लेखन उपसमिति, आर्थिक प्रतिवेदन लेखन उपसमिति, प्रचार उपसमिति, स्वयम्सेवक उपसमिति, खाद्य व्यवस्थापन उपसमिति, हल व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, सम्मान उपसमिति, अतिथी सत्कार उपसमिति लगायतका उपसमितिहरु गठन गरिएको पार्टी सचिव ढुङगेलले जानकारी दिए ।

बैठकले ११ औं जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनौट गर्न इकाई र मापदण्ड तोकेको छ । खुल्ला क्षेत्रको प्रतिनिधि छनौटका लागि वडालाई इकाई तोकिएको छ भने दलित इकाईका लागि स्थानीय तह तोकिएको छ । मजदुर र जनवर्गीय संगठनको इकाई जिल्ला तहलाई तोकिएको छ ।

खुल्ला क्षेत्रबाट ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुन पाउने निर्णय गरिएको छ । दलित इकाईमा २५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुन पाउने छन् । अधिवेशनले १५ प्रतिशत युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिनिधि छनौटका लागि चैत्र १ गते १५ पालिकाको बैठक बस्ने छ भने चैत ३ गते १३१ वडाको बैठक बस्ने जिल्ला कमिटीले निर्णय गरेको छ । बैठकको निर्णयानुुसार चैत्र ४ गते तोकिएका इकाईहरुमा मतदाता नामावली प्रकाशन हुने छ भने ५ गते उम्मेदवारी दर्ता हुनेछ । ६ गते प्रतिनिधि छनौटका लागि निर्वाचन हुने बताइएको छ । छनौट भएका प्रतिनिधिहरुको नामावली चैत ८ गते प्रतिनिधि व्यवस्थापन समितिमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

चैत १० गते झापाको सबै वडाहरुमा प्रभातफेरि, सरसफाई गर्दै पार्टीको झण्डा राख्ने कार्यक्रम तय गरिएको सचिव ढुङगेलले जानकारी दिएका छन् । उक्त कार्यक्रम जिल्ला अधिवेशनको प्रचारका लागि आयोजना गरिने बताइएको छ ।
जिल्ला अधिवेशनले १५० सदस्यसम्मको विधान बमोजिम कमिटी बनाउने छ ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]