जेष्ठ ८, २०८२ बुधबार

अटोरिक्सा चालकलाई संयमित भएर अटो चलाउन आग्रह

बिर्तामोड । झापाको बिर्तामोड बजार क्षेत्रमा अटोरिक्साको संख्या बढेसँगै दुर्घटना पनि बढ्न थालेको छ । अटोका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको सरोकारवालाको भनाई छ ।

यसैलाई मध्य नजर गर्दै बिहीवार बिर्ताबजारमा दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम तथा अटो चालकका समस्याका बारेमा छलफल गरिएको छ ।

बिर्तामोड-३ स्थित बिर्ताबजारमा तीन दिनअघि भएको अटो दुर्घटनामा ताप्लेजुङस्थित याङबरक गाउँपालिका –२ मा बस्ने बर्ष ३६ को भिमबहादुर तामाङको मृत्यु भएको थियो । त्यस्तै सोहि ठाउँकी बर्ष ३१ कि सामना लिम्बु गम्भीर घाइते भएकी छन् ।

बिर्तामोड नगरपालिका अगाडि अटो तीब्र गतीका कारण अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो ।
बजारमा अटो सञ्चालनमा आएसँगै सर्वसाधारणको दैनिकी सहज भए पनि दुर्घटनाको जोखिम भने अत्याधिक देखिएको बिर्तामोड नगरपालिका वडा नम्बर –३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले लापरवाही तरिकाले तिब्र गतीमा अटो चलाउँदा दुर्घटना भए चालक सहित यात्रुलाई क्षति हुने हँुंदा चालकलाई सचेत हुन आग्रह गरे । उनले दैनिक जीवन गुजारा चलाउन अटो चलाउने चालक दुर्घटनामा परे आर्थिक भारसँगै शारिरीक अंगभंग हुने तथा मृत्यु समेत हुने भएकाले सचेत बन्नुपर्ने धारणा राखे ।

पूर्वेली मजदुर यातायात प्रा.लि.को आयोजना तथा बिर्तामोड–३ नं.वडाको समन्वयमा भएको कार्यक्रममा अटो रिक्सा चालकहरूले लापरबाहीका साथ अटो चलाउने, जथाभावी बाटो काट्ने र बीच सडकमै मोड्ने जस्ता कारणले गर्दा सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी साहयक निरीक्षक पूर्ण गौतमले बताए ।

कार्यक्रममा ट्राफिक सचेतना प्रदान गर्दै उनले चालकलाई ट्राफिक नियम पालना गरी संयमित भएर अटो चलाउन आग्रह गरे । सडक पहुँचको तुलनामा अधिक संख्यामा अटो रहेकाले ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए । पूर्वेली यातायात मजदुर प्रा.लि.का अध्यक्ष हरि बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीसहित बिराट सहकारीका प्रबन्धक रुद्र सिटौला, हिमालय इन्स्योरेन्सका सुशील थापाले धारणा राखेका थिए ।
कम्पनीका सचिव गणेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रा.लि.का सल्लाहकार धनसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा १ सय बढी अटो चालक सहभागी थिए ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]