असार १३, २०८२ शुक्रबार

हामी आठौं वर्षमा

प्रकाशकीय
तपाई प्रिय पाठक वर्गको मायाले आजबाट हामी सात वर्ष पुरा गरेर आठौं वर्षमा प्रवेश गरेका छौं । सात वर्षसम्मको तपाईहरुको साथ र सहयोगबाट नै यहाँसम्मको यात्रा पुरा भएको छ । नागरिकको सूचनाको हकलाई प्रत्याभूत गर्ने प्रमुख दायित्वलाई जिम्मेवार पूर्वक निर्वाह गर्दै हामीले चूनौतिपूर्ण सात वर्ष पुरा गरेका छौं । २०७४ बैंशाख १ गतेबाट नियमित प्रकाशन भएको इजलास दैनिकले कोरोना महामारीमा बाहेक प्रकाशन बन्द गर्नुपरेको अवस्था छैन । झापाको कान्छो दैनिक पत्रिकाको रुपमा सञ्चालनमा रहे पनि नागरिकलाई सूचना प्रवाह गर्ने सन्दर्भमा सदैंव अग्रस्थानमा रहेका छौं । यत्तिका समयसम्म विभिन्न ढंगबाट यो यात्रामा साथ दिने तपाई सबैप्रति खुशी बाँढ्न चाहन्छौं । हाम्रो आगामी दिनहरु थप जिम्मेवार र जवाफदेही बनाउनुपर्ने जिम्मेवारी बोध गरेका छौं ।

झापाको सबैखाले आवाजलाई सञ्चार गर्न हाम्रो तर्फबाट कुनै पनि कसर बाँकी राखेका छैनौं । जिल्लाभित्रका वेथिती, भ्रष्टाचार, अनियमितता र नागरिकलाई भ्रममा पारेर व्यापार गर्नेहरुको विरुद्ध एक्लै पनि उभिएको आम पाठकलाई सर्वविदितै छ । यहाँको संभावनाहरु पाठकसम्म पुराएर निराशालाई आशामा बदल्ने कामलाई प्राथमिकता दिएका छौं । सामाजिक रुपमा विसंगति स्थापित गर्न चाहनेहरुका लागि इजलास खरो उत्रिएको छ । हामी सधैं विसंगति स्थापित गर्ने पात्र र प्रवृत्ति विरुद्ध खरो उत्रिरहन्छौं ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले सबै क्षेत्रमा असर गरिरहेको छ । त्यसमध्ये सबैभन्दा धेरै असर मिडिया क्षेत्रमा परेको छ । त्यसको प्रत्यक्ष असरबाट इजलास पनि मुक्त छैन । आर्थिक मन्दी र डिजिटल मिडियाको बढ्दो क्रेजले छापा माध्यम संकटमा परेको अवस्था छ । कुनै पनि बेला इजलासले छापाको बदलामा पूर्ण रुपमा डिजिटल मिडियाको माध्यमबाट मात्रै सूचना संप्रेषण गर्न सक्ने संभावना बढेर गएको छ । पाठक वर्गमा पनि डिजिटलभन्दा छापाप्रतिको विश्वास बलियो छ । जसका कारण आज पनि पाठकको विश्वासका कारण कयौं छापा माध्यमहरु चलिरहेका छन् । त्यहि विश्वासको साथले इजलासको निरन्तता भएको हो ।

अन्त्यमा, विज्ञापन बजार शून्य जस्तै हुँदा पनि तपाई पाठक वर्गको साथले आगामी यात्रालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । नागरिकलाई दिनै पर्ने सूचना कसैले दिन नसक्दा पनि इजलासले आफ्नो कर्तव्य ठानेर सूचना प्रवाह गरिरहेको छ । भविष्यमा पनि सूचना प्रवाहमा कुनै कसर बाँकी राख्नै छैनौं । त्यसका लागि तपाईहरुले सधैव इजलासलाई म्झिन सक्नुहुने छ । सबै क्षेत्रको सहयोगप्रति आभारी हुँदै नयाँ वर्ष २०८१ सँगै आठौं वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्दछु ।
नारायण प्रसाद पोखरेल
अध्यक्ष

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  १० : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]