एक घण्टा खाटमुनी ढुकेर विष्णुकुमारीको हत्या, मुख्ययोजनाकार राजवंशीसहित पाँच पक्राउ
बिर्तामोड । झापा बिर्तामोड –४ निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्नलाई झापा प्रहरीले बिहीवार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन मार्फत उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले हत्याका मुख्य योजनाकार बिर्तामोड ४ का २२ गंगा प्रसाद राजवंशी, घटना मतियार २३ वर्षीय महेश राजवंशी, चोरेको सामान लुकाउन सहयोग गर्ने २० वर्षीया वर्षा राजवंशी, चोरीको सामान बेच्न सहयोग गर्ने ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा – ६ मा हनुमान सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको छ ।
हत्याको घटनापछि प्रहरीले ब्लाक ब्याग अपरेशन नामाकरण गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले एउटा कालो ब्याग भेट्टाएपछि ब्लाक ब्याग अपरेशन नामाकरण गरेको थियो । मुख्य योजनाकार राजवंशी लागुऔषध दुव्र्यसनमा रहेको अनुसन्धानबाट खुलेको छ । हत्याको कारण लागुऔषध दुव्र्यसन भएको एक अनुसन्धान अधिकृतले दावी गरे ।
६७ वर्षीया विष्णकुमारी एक्लै बस्दै आएकी थिइन् । २५ वैशाखको राति साढे ९ बजेतिर ६७ वर्षीया विष्णुकमारीले काठमाडौंमा अध्ययनरत छोरा प्रकाशलाई फोन गरेर घर वरपर चोरहरु पो हिँडडुल गर्दैछिन् कि क्या हो भन्दै सुनाएकी थिइन् । घरको झ्यालमा ड्याङ–ड्याङ पार्दैछन् ।
लगत्तै प्रकाशले मामा नाता लगाउने छिमेकी श्रीप्रसाद सिटौलालाई फोन गरेर घरमा चोर पसेजस्तो छ । एकछिन गइदिनुस् भनेका थिए । प्रहरीको अनुसन्धान अनुसार श्रीप्रसाद छिमेकी विष्णुकुमारीको घर गए । अवस्थाबारे बुझे । कतै कोहि नदेखेपछि आफ्नो घर फर्किएर सुते ।
बैशाख २६ गते विहान वद्धा मृत अवस्थामा फेला परिन् । सिटौलाले प्रहरी र छोरालाई जानकारी गराइदिए । रक्ताम्य अवस्थामा मृत भेटिएकी विष्णुकुमारीको घटनास्थल मुचुल्का उठाएर झापा प्रहरीले अनुसन्धान अघि बढायो । कम्पाउण्डले घेरिएको एक तले पक्की घरको सुत्ने कोठाको खाटमाथि दिशा थियो । कपडाहरु छरपस्ट थिए । भुइँमा रगत लतपतिएको रड थियो । टाउकामा रडले प्रहार गरेजस्तो चोट थियो । हातको औला काटिएको थियो । ‘क्राइम सिनबाटै मर्डर भन्ने प्रष्ट भइसकेको थियो । रातिको घटनाबारे छिमेकीले बताए पछि लुटपाटका लागि हत्या भन्ने क्लु आइसकेको थियो’ प्रहरीले भने ।
‘अपरेशन ब्ल्याक ब्याग’ नाम दिएर प्रहरीले विष्णुकुमारीको हत्या अनुसन्धान अघि बढायो । झोलामा फलामजन्य सामानहरु समेत थिए । लुटपाट तथा चोरी गर्नकै लागि ती सामान राखेको हुनसक्ने आशंका प्रहरीको थियो ।
फेसन लेखिएको घोडाको टापको जस्तो चित्र भएको कालो झोला बोक्नसक्ने युवा वर्गहरुमाथि प्रहरीले अनुसन्धान अघि बढायो । तर केही सुराक फेला परेन । त्यसपछि झापा आसपासका कपडा पसलहरुले बरामद झोला बेच्ने गरे-नगरेकोबारे प्रहरीले कपडा पसलेहरुसँग सोधुपछ अघि बढायो । तर बरामद झोला झापाका कपडा पसलबाट बिक्री भएको पाइएन ।
युवा वर्गसँगको सोधपुछ र कपडा पसलेहरुबाट समेत ब्ल्याक ब्यागको अवस्था पत्ता लगाउन नसकेपछि अनलाइनमार्फत बिक्री गर्ने कम्पनीमाथि प्रहरीले अनुसन्धान अघि बढायो । ‘हामीले विभिन्न अनलाइन कम्पनीहरुमाथि यो प्रकृतिको झोला बेचे नबचेको र झापाको मान्छेहरुले कस्तो झोला खरिद गरेका छन् भन्नेसम्मको विवरण हे¥यौं । त्यसबाट पनि झोला पत्ता लगाउन सकिएन’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
त्यसपछि झापाकै मान्छेलाई प्रहरीले म्यानुअल्ली बरामद प्रकृतिको झोला कसले बोक्ने गरेको भन्दै सोधपुछ अघि बढायो । सोही क्रममा शिवनगरकै डम्बरकुमारी प्रसाईले खुलाइन् – यो झोला त मेरो हो । विष्णुकुमारी हत्याको चौथो दिनमा झोलाको सनाखत भएपछि प्रहरीले अनुसन्धान लगभग टुंगोतर्फ पुग्ने अनुमान गरे ।
अनुसन्धान लगभग टुंगोमा पुग्न लागेको आश गरेको प्रहरीले थप पुष्टि गर्न थाल्यो । तर झोला बोक्ने विष्णुकुमारीको छोरा कतारमा रहेको खुल्यो । प्रहरीले भिडिओ कलमार्फत कतारमा रहेका प्रसाईँका छोरालाई पनि झोलाबारे सोधपुछ ग¥यो । उनले कतारमै उनले ४० दिनारमा उक्त झोला खरिद गरेको पुष्टि भयो ।
‘लगभग अनुसन्धान टुंगियो भनेका थियौं । तर झोलाबारे फरक तथ्य आएपछि प्रसाईंको घरको झोला लुटेराले चोरेर लगेको पुष्टि भयो । त्यही लुटेराले विष्णुकुमारीको हत्या गरी गरगहना लुटेको देखियो’ झापाका एक अनुसन्धान अधिकारीले सुनाए ।
प्रारम्भिक चरणमै कुकुरमार्फत अनुसन्धान अघि बढाएको स्थानीयले प्रहरीले संदिग्धको तत्कालै पहिचान गर्न सकेन । अनुसन्धान थप जटिल भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कोशी प्रदेशको अनुसन्धान टिम पनि घटनामा जोडिए ।
विगतमा झापमा आसपासमा चोरी तथा लुटपाटमा संलग्न व्यक्ति, लागु औषध दुव्र्यसनी, कारागारबाट कैद भुक्तान गरी छुटेकाहरुमाथि प्रहरीले निगरानी बढायो ।
चारैवटा युनिटले एकसाथ हत्याबारे थप अनुसन्धान अघि बढाए । अनुसन्धानकै क्रममा खुल्यो । विष्णुकुमारीले २ वटा मोबाइल प्रयोग गर्थिन् । तर घटनास्थलमा एउटा मोबाइल भेटिएको थियो अर्को मोबाइल थिएन । उक्त मोबाइलमार्फत प्रहरीले थप अनुसन्धान अघि बढायो । ‘निश्चित लोकेशनमा पुगेपछि मोबाइल अफ गरेको देखियो । थप प्राविधिक पुष्टि गरेपछि हामी हत्यारा नजिक पुगेका थियौं’ सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले भने ।
त्यसपछि शंकास्पद अवस्थामा मार्तोल र रेञ्च बोकी हिँडेको अवस्थामा बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी र सोही ठाउँका २३ वर्षीय महेश राजवंशी १६ जेठमा फेला परे । यसको साइनो कालो ब्यागमा जोडिएको छ । घटनास्थलबाट बरामद भएको कालो ब्यागमा समेत सोही प्रकृतिका सामानहरु थिए । जसकारण हत्यामा उनीहरुको संलग्नता हुनसक्ने आधार मान्दै विस्तृत अनुसन्धान गर्दा उनीहरुले विष्णुकुमारीको हत्या स्वीकार गरेको पाइएको झापाका एसपी मिलन केसीले बताए ।
गंगाप्रसाद हत्याका मुख्य योजनाकार रहेको, महेशले घर बाहिर कुरेर कोही आए नआएको जनाकारी गराउने गरेको, वर्षाले लुटेको सामान लुकाउन सहयोग गरेको, ज्याकले लुटेको सामान बेच्न सहयोग गरेको र धनबहादुरले लुटिएको सुन किनेको आरोप प्रहरीले लगाएको छ ।
उनीहरुबाट नट खोल्ने रेन्च, मार्तोल, सुनको सिक्का भएको बेरुवा औठी, हातमा लगाउने सुनको बाला, जन्तर, सिक्री, टप, चाँदीको कलश बरामद गरेको छ ।
विष्णुकुमारीको हत्या गरिएको साँझ ६ बजेतिर २५ वैशाखमा महेश गंगाप्रसादको घर गएर चोरी गर्ने योजना बनाएको खुलेको छ । सिटी सफारीको टायर खोल्न प्रयोग हुने मार्तोल, रेञ्ज बोकेर उनीहरु राति ९ बजेतिर घरबाट निस्केका थिए ।
महेश र गंगा चोरी गर्न भनेर सुरुमा सुमन राजवंशीको घरमा गएका थिए । तर चोरी गर्न असफल भएपछि उनीहरुको टार्गेटमा विष्णुकुमारी परेको खुलेको छ । महेश विष्णुकुमारीको घर बाहिर कम्पाउण्डमा बसेर रेखदेख गर्ने र गंगाप्रसाद भित्र गएर चोर्ने योजनाअनुसार गंगा विष्णुकुमारीको घरमा गएका थिए ।
तर विष्णुकुमारीले थाहा पाएर छोरा प्रकाशलाई फोन गरेपछि उनीहरु भागेका थिए । मकैबारी हुँदै भागेर डम्बरकुमारी प्रसाईँको घरमा गएर उनीहरुले कालो झोला चोरी गरेको खुलेको छ । उक्त झालोमा भएको अन्य सामानहरु पेटीमा फालेर झोलामा भएको ७ सय रुपैयाँसहित झोला चोरी गरेको बयान उनीहरुले प्रहरी समक्ष दिएका छन् ।
चोरीको गरेको त्यही ब्ल्याक ब्यागमा रड, मार्तोल, रेञ्च लगायतका सामानहरु हालेर उनीहरु सोही राति चोरी गर्न दोस्रो पटक विष्णुकुमारीको घरमा पुगेको अनुसन्धानबाट खुलेको छ । राति पौन १२ बजेतिर दोस्रो पटक विष्णुकुमारीको घरमा पुगेको उनीहरुले बयानमा खुलाएका छन् । गंगाप्रसाद पर्खालबाट घरको कम्पाण्डमा छिर्दै घर भित्र प्रवेश गरेका थिए । महेशले भने बाहिर रेकी गरेको थिए ।
राति सवा १२ बजेतिर विष्णुकुमारी ढोका खोली ट्वाइलेट गइन् । त्यही बेला रडसहित गंगाप्रसाद कोठाभित्र छिरेको खुलेको डीएसपी चन्दले बताए । विष्णुकुमारी ट्वाइलेटमै रहेका बेला गंगाप्रसादले रडको सहायतले दराज फुटाएर सुनका गहना तथा नगद निकालिसकेका थिए । ट्वाइलेटबाट फर्केर सुत्ने कोठामा छिर्ने बेला विष्णुकुमारीले गंगाप्रसादलाई देखेर चिच्याउन थालिन् । त्यसपछि रड टाउकामा हिर्काएर हत्या गरेको पक्राउ परेका गंगाप्रसादले स्वीकार गरेको डीएसपी चन्दको भनाइ छ ।
हत्यापछि विष्णुकुमारीको हातको औठी निकाल्न औला समेत काटिएको थियो । लुटिएका सामानहरु धनबहादुरको सुनचाँदी पसलमा लगेर उनीहरुले बेचेका थिए । विष्णुकुमारीको एन्ड्रोइड मोबाइल समेत चोरेर लगिएको थियो । २ः४५ बजे घर आएर गंगाप्रसादले मोबाइल स्वीच अफ गरेका थिए ।
चोरी गरेको मोबाइल बोराभित्र हालेर लुकाएर राखेका थिए । प्रहरीले थाहा पाउने भएकाले श्रीमती वर्षालाई उक्त बोरा खोलामा फाल्न लगाएको समेत खुलेको छ । लुटिएका सामानहरु केही दिन आफ्नै घरको कलधाराको नाला नजिक स्लेबमुनि लुकाएर राख्न श्रीमती वर्षाले समेत सहयोग गरेकाले उनलाई पनि प्रतिवादी बनाइएको प्रहरीको भनाइ छ ।
लुटिएको औठी ज्याकको सहयोगमा अर्जुनधारा–६ हनुमान सुनचाँदी पसलका सञ्चालक धनबहादुरलाई १६ जेठमा २० हजार रुपैयाँमा बेचेको खुलेको छ । गालेको अवस्थामा धनबहादुरको पसलबाट उक्त औठीको सुन प्रहरीले बरामद गरेको छ ।