‘मेरै कार्यकालमा वडाका सबै घरमा उज्यालो पुर्याउनेछु’
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ जंगलीहात्ती प्रभावित वडाको रुपमा परिचित छ । विकासका दृष्टिले पछि परेको सो वडाको मुहार नयाँ नेतृत्वसँगै बदलिन थालेको छ । वडामा नयाँ नेतृत्व आएपछि वडाले विकासलाई प्राथमिकता दिदैं वडा संमृद्धिमा प्राथमिकता दिएको छ ।
वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेलले गत निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार काम गर्दै गइरहेको बताएका छन् । स्थानीय तहको निर्वाचन पछि जनताको मत जितेर हामी आयौ, उनले भने – हामीप्रति नागरिकहरुको धेरै आशा र चाहना राख्नुभएको छ । जनताको आशालाई अधुरो छोड्ने छुट हामीलाई छैन ।
पहिलो बजेटदेखि नै हामीले चुनाव ताका प्रतिबद्धता गरेका कुराहरुको सम्बोधन र नागरिकहरुको आशा अनुरुपको काम गरिरहेका छौं । विर्तामोड नगरपालिकाले छुट्याएको बजेट, प्रदेश सरकार र संघीय सरकारबाट आएका बजेटहरुलाई कार्यान्वयन गर्न तर्फ अगाडि बढौैं । यसरी काम गर्ने शिलशिलामा हामीले पहिलो बजेटमा नागरिकको भावना अनुरुप गर्नै पर्ने काम विद्युतको लाईन बिस्तार, तटबन्धनको निर्माण र सडक निर्माणमा काम ग¥यौं ।
हामी निर्वाचित हुँदा बिर्तामोड नगरपालिकाको वडा नं. ७ को कतिपय स्थानहरुमा बिजुली नपुगेको अवस्था थियो । हामीले त्यसलाई पहिलो प्राथमिकतामा रखेर काम ग¥यौं । सडक निर्माणको क्षेत्रमा नगर गौरव, वडा गौरवको आयोजना बनाएर काम ग¥यौं । साथै, प्रदेश सरकार र संघीय सरकार मार्फत पनि बजेट मार्फत हामीले केही सडकहरु कालोपत्रे गरेका छौं ।
शिक्षाको क्षेत्रमा हामीले हाम्रो वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयहरुमा त्यहाँको शिक्षालाई उकास्न अङ्ग्रेजी माध्यममा लानुपर्छ भनेर वडाबाटै दुई जना शिक्षहरु व्यवस्थापन ग¥यौं । स्वास्थ्यको क्षेत्रमा पनि हामीले विभिन्न चरणमा काम गरिरहेका छौं । हामीले आँखा शिविरहरु राखेर जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष जोडिएका विषयहरुलाई केन्द्रमा राखेर हामीले काम गरिरहेका छौं ।
जनताले धेरै अपेक्षा गरेको हात्ती नियन्त्रणको विषयलाई हामीले प्रभावकारी रुपमा उठान गरेका छौं । दोस्रो वर्षमा हामीले पहिलो वर्षकै विषयहरुलाई प्राथमिकतामा राखेर काम गरेका छौं । यस वर्ष पनि एक सय ४४ वटा विद्युत पोल गाडेर विद्युत विस्तार तथा व्यवस्थापन गरेका छौं । कटान भएको जमिनमा तटबन्धन गरेका छौं । हामीले देउनिया खोला र रेखा खोलामा पनि तटबन्धनको काम गरेका छौं । हामीले यस वर्ष संघीय सरकारबाट एउटा, प्रदेश सरकारबाट दुई वटा, नगर गौरवको एउटा र वडा गौरवको एउटा गरेर पाँचवटा सडक कालोपत्रे गर्न सफल भएका छौं ।
यस वर्षमा अर्को महत्वपूर्ण काम भनेको सहिद नेत्र पार्कमा जनताहरुलाई सहभागी गराएर श्रमदान मार्फत पार्कको सरसफाई ग¥यौं । यो कार्यक्रम एकदमै लोकप्रिय कार्यक्रम भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा हात्तीको सबैभन्दा ठूलो चुनौती हो । अहिले पनि त्यो चुनौती यथावत नै छ । हामीले यो समस्या समाधानका लागि संघीय र प्रदेश सरकारसँग धेरै अपेक्षा गरेका छौं । यसको समाधानको निम्ति डिपिआरको काम सम्पन्न भइसकेको छ । यस भेगमा सोलार फेन्सिङको काम अगाडि बढ्ने तयारीमा छ । हात्ती गत वर्ष भन्दा यो वर्ष केही हदसम्म बुट्टाबारी प्याकुरेल सडक खण्डभन्दा पूर्व तर्फको भागमा बढी सतायो भने पश्चिम पटीको भागमा प्रवेश नै गरेको छैन । बिर्तामोड नगरपालिका ६, ७ र ८ मा हात्तीको अत्यन्तै ठूलो समस्या रहेको छ । जसमध्ये पनि विर्तामोड ७ सबैभन्दा बढी हात्तीको प्रभावित क्षेत्र भएको कारणले गर्दा हात्तीको समस्या समाधान हुनपर्छ भन्ने हाम्रो माग हो । हामीले संघीय र प्रदेश सरकारमा यो विषय निरन्तर पु¥याई रहेका छौं । हामीले हात्ती समस्या पूर्ण रुपले समाधान गर्न नसके पनि हात्ती समस्या न्यूनिकरण गर्दै जानेछौ ।
हामीले सिचाईको क्षेत्रमा माथि ६ नम्बरबाट सुरु हुने देउनिया सिँचाई योजना अन्र्तगत ड्याम बनी सकेको थियो र यो साल नहर बन्ने काम भईरहेको छ । त्यसको लागि प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन भएको छ । हामीले कृषकहरुलाई १० बिघा क्षेत्रमा निरन्तर पानी आइरहने सिचाईको व्यवस्था मिलाएका छौं । यो बैकल्पिक उर्जा मार्फत छ वटा प्यानल जडान गरेर सोलार मार्फत काम हुन्छ । त्यसै गरी सिचाईलाई थप प्रभावकारी बनाउन डिप बोरिङहरुको पनि काम भइरहेको छ ।
आगामी वर्षको लागि हाम्रो तयारी भनेको देउनीया घाटलाई निर्माण गर्ने लक्ष्य राखेका छौं । यसका साथै गरामनी खानेपानीको क्षेत्र विस्तार गर्ने योजना रहेको छ । जनतासम्म खानेपानी पु¥याउने हाम्रो चुनावी एजेण्डा नै थियो । यसले गर्दा खानेपानीको क्षेत्रमा हामी अब थप प्राथमिकता दिएर काम गर्ने छौं ।
सहिद नेत्र पार्क विर्तामोड नगरपालिकाको एकदमै सम्भावना बोकेको पर्यटकीय स्थल हो । यसलाई हामीले जसरी पनि सञ्चालनमा ल्याउन पर्छ । यसको विकासमा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले विशेष ध्यान दिन पर्छ । आउँदो आर्थिक वर्ष भरीमा यो पार्क पूर्ण रुपले सञ्चालनमा आउने हाम्रो विश्वास छ ।
सहिद नेत्रपार्क हिजोको दिनमा राज्यको धेरै लगानी भएर पनि अलपत्र अवस्थामा पुगेको थियो । पछिल्लो समय हामीले जनताको उल्लासपूर्ण उपस्थितिमा श्रमधान मार्फत काम ग¥यौं । यस काममा विर्तामोड नगरपालिकाका सम्पूर्ण नागरिकहरुको उपस्थितिमा हामीले पार्क सरसफाई ग¥यौं ।
यस क्षेत्रमा पोखरीको सरसफाई, चिल्ड्रेन पार्कको सरसफाई, बोट विरुवाहरुमा रंगरोेगन गर्ने काम भएको छ । हाल हामीले यस क्षेत्रलाई घुम्न लायक ठाउँको रुपमा विकास गरेका छौं । जनताहरुले हामीमाथि धेरै आशा राख्नु भएको थियो तर, देशको आर्थिक अवस्थाले गर्दा आवस्यक बजेटहरु प्राप्त भइरहेको छैन । बजेटको अभावले जनभावना अनुरुप काम गर्न नसकिएला कि भन्ने डर लागिरहेको छ ।