‘सबै सडक स्तरोन्नति र बहुतले भवन निर्माण सम्पन्न गर्छु’
झापाको बिर्तामोड नगरपालिका पूर्व नेपालकै व्यापारिक केन्द्र हो । शिक्षा, स्वास्थ्य र व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोड नगरपालिकाको केन्द्र वडा नं. ५ मा अवस्थित छ । यहाँको विकासमा वडाका जनप्रतिनिधिहरुले स्रोतको व्यवस्था बमोजिम काम गर्दै आएको प्रतिक्रिया दिएका छन् ।
वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले नागरिकहरुको धेरै आशा र चाहना रहेको बताएका छन् । उनले भने, हामी पहिलो बजेटदेखि नै हामीले चुनावताका प्रतिबद्धता गरेका कुराहरुको सम्बोधन र नागरिकहरुको आशा अनुरुपको काम गरिरहेका छौं । विर्तामोड नगरपालिकाले छुट्याएको बजेट, प्रदेश सरकार र संघीय सरकारबाट आएका बजेटहरुलाई कार्यान्वयन गर्न तर्फ अगाडि बढिरहेका छौं ।
हामी निर्वाचित भएर आइसकेपछि विर्तामोड ५ मा धेरै अगाडि देखिका धेरै समस्याहरु थिए । समस्याहरुको बाबजुद पनि हामी नयाँ कामहरुमा लाग्यौं । जस्तै हामीले यही आर्थिक वर्षमा कनकाई रोडको काम अगाडि बढाएका छौं । यस कामका लागि सहरी विकास मन्त्रालयबाट दुई करोड ३० लाख रकम प्राप्त भएको छ । यस्तै, अर्को महत्वको बाटो धर्मकाटा रोडमा हामीलाई भौतिक पूवर्धार विकासबाट एक करोड ५० लाख रुपैयाँ रकम आएको छ । यि सँगसँगै विभिन्न बाटाहरुमा बजेट आएको छ । जस्तै किराँत चौकमा ४० लाखको पेवर्स लगाउने बजेट आएको छ । अर्को होस्टल मार्गमा २५ लाख आएको छ । यस्तै सिपी मैनालीको घर अगाडिको बाटोमा २५ लाख रुपैयाँ रकम आएको छ । यसैगरी आगमन चौकदेखि चार नम्बर जोड्ने बाटोमा ४० लाखको नाला बनाउने पैसा आएको छ ।
हाल हामीले वडा र नगरको मात्र बजेट नभएर अन्य प्रदेश सरकार र संघीय सरकारबाट पनि ल्याएर काम गरिरहेका छौँ । यस्तै, महत्वपूर्ण काम भनेको अर्जुधारा ११ र विर्तामोड ५ मा ढलको ठूलो समस्या थियो । हामीले ७० लाख रुपैयाँ लगाएर त्यो समस्या पनि समाधान गरिसकेका छौँ । विकास योजनाका साथै हामीले अन्य क्षेत्रमा पनि काम गरिरहेका छौं । हामीले शिक्षाको क्षेत्रमा पनि गुणस्तर र भौतिक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । हामीले महिला लक्षित, दलित लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । विर्तामोडमा हाम्रो वडामा लागुऔषध दुव्र्यसनीको हबको रुपमा विकास भइरहेको छ । हामीले १८ जना युवाहरुलाई सुधारकेन्द्रमा लगेर सुधार गरिसकेका छौं ।
लागुऔषध न्यूनीकरण गर्न तथा रोक्न हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । हामीले विद्यालय विद्यालय गएर जनचेतना जगाउने कार्यक्रमहरु अगाडि बढाएका छौँ । हामीले विद्यालयमा मात्र हैन यस किसिमको कार्यक्रम समुदायमा पनि सञ्चालन गरिरहेका छौँ । हामीले अभिभावकलाई पनि आफ्नो छोराछोरी कुन प्रकारको प्रभावमा हिढिरहेका छन्, त्यसले कहाँ असर गरिरहेको छ ? साँझ छोराछोरी बेलैमा घर आएका छन्,छैनन् । यस्ता विषयमा अभिभावकले याद गर्नुपर्छ । हामीले अनुरोध त्यसै अनुसार अभिभावकसँग पनि आग्रह गरिरहेका छौं ।
यसका साथै हामीले हाम्रो बजेटले भ्याए अनुसार केही युवाहरुलाई सुधारकेन्द्रमा राखेर सुधार्ने काम पनि गरेका छौँ । लागुऔषध दुव्र्यसन एकदमै भयावह भइरहेको छ । तसर्थ यसको न्यूनीकरण गर्न सबै समुदाय लाग्नुपर्ने हुन्छ ।
हामी निर्वाचित भएर आएदेखि हामीले धेरै कामहरु गरेका छौँ । हामीले अघिल्लो आर्थिक वर्षमा वडाबाट सात वटा योजना र नगरबाट चार वटा योजना गरेर जम्मा ११ वटा महत्वपूर्ण योजना हामीले सम्पन्न गरेका छौँ । त्यसमा वडा गौरबको रुपमा होस्टल मार्गलाई अगाडि बढाएका थियौं । त्यसमा पेबर्स लगाउने काम भएको छ । त्यस्तै यो वर्ष हामीले वडा गौरवको रुपमा जात्रुवाडीमा काम अगाडि बढाएका थियौं ।
हामीले यो आर्थिक वर्षमा नगर र वडाबाट सञ्चालन गरेका सबै २९ वटै योजनाहरुको काम सम्पन्न भइसकेको छ । हाल हामीसँग १३ वटा योजना चाहिँ १०० मिटर नाला बनेको खण्डमा पेवर्स लगाउने योजना थियो । यो पनि अन्तिम चरणमा पुगेको छ ।
हामी निर्वाचित भएर आइसके पछि बुधबारे हटियामा बहुतले भवन बनाउन पर्छ भनेर काम अगाडि बढायौं । आउँदो आर्थिक वर्षबाट बहुतले भवनको पनि काम अगाडि बढ्ने छ । बजारमा यसका विषयमा अनेक हल्ला आएका छन् । तर, सम्पूर्ण नागरिहरुलाई आउँदो आर्थिक वर्षबाट बहुतले भवनको काम सुरु हुनेमा ढुक्क हुन म अनुरोध गर्दछु ।
विर्तामोड वडा नं. ५ मेडिकल हबदेखि लिएर कृषिथोकसम्म सम्पूर्ण बजारहरु यही पर्दछ । हामी कृषिथोक बजारको डिपिआर गरेर यसको व्यवस्थापनका निम्ति प्रदेश र संघीय सरकारको मन्त्रालयहरुसँग छलफल गरिरहेका छौँ । यहाँको सहर व्यवस्थापन हाम्रो चुनौतीको विषय हो । यसका निम्ति हामी काम गरिरहेका छौँ । यसका साथै विर्तामोड ५ अलैँचीको पनि हब हो । यस व्यवसायलाई पनि हामीले कसरी अगाडि बढाउन सकिन्छ भनेर छलपल गरिरहेका छौँ ।
अर्को समस्या भनेको घरधनी र व्यवसायी बीच पनि छ । धेरै व्यवसायीहरुले सम्झौता नगरि घर बाहल लिनु भएको कारण विभिन्न समस्याहरु आउने गरेका छन् । यस विषयमा हामीले व्यवसायी र घरधनीले वास्तविक भाडा नढाँटी सम्झौता गर्दा समस्या उत्पन्न हुँदैन । तसर्थ नागरिहरुलाई पनि यहीँ अनुरुप काम गर्नुहुन अनुरोध गर्दछु ।
हामीलाई काम गर्न सबैभन्दा ठूलो चुनौती बजेटको छ । हामीले बजेट अनुसारको काम गर्ने हो तर, बजेट सारै थोरै भएको कारण जनअपेक्षा अनुरुपको काम गर्न सकिराखिएको छैन ।
कृषिथोक आसपास एकदमै भिड देखिएका कारण हामीले वाणिज्य संघको अध्यक्ष र ट्राफिक प्रहरीसँग छलफल गरिसकेका छौँ । हामी कनकाई रोडको काम सकिसके पछि वान–वे बनाएर लाने हो कि भनेर व्यापारी साथीहरु तथा स्टेक होल्डरहरुसँग छलफल गर्ने तयारीमा पनि छौँ । हामी आउँदो बजेटमा पूर्वाधारका क्षेत्रमा प्राथमिकताका आधारमा काम गर्ने छौँ । अन्य मानव संंसाधनका कार्यक्रमहरुमा चाहिँ लक्षित वर्गलाई जुन विषयले जीवन चलाउने कुरा मै सहयोग गर्छ । त्यसमा लगानी गर्ने छौँ ।
विर्तामोड ५ लाई हाम्रो कार्यकाल सकिदा यहाँको ९० प्रतिशत सडकहरुको स्तरोन्नति गरिसकिने छ । हाम्रो मुख्य फोकस भनेको शिक्षा र स्वास्थ्य हो । शिक्षाको लागि काम गर्न हामीसँग एउटा सामुदायिक विद्यालय छ । हामीले यसमा लगानी गरिरहेका छौँ । शिक्षा र स्वास्थ्यमा पनि व्यापक परिवर्तन ल्याउने संकल्प गरेका छौं ।
मेरो वडामा जनघनत्व उच्च छ । सुरक्षा चुनौति छ । हामी यसलाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालयसँग सहकार्य गरेर काम गरिरहेका छौँ । शान्ति सुरक्षाका लागि वडाको तर्फबाट आवश्यक सहकार्य र समन्वय गरिरहेको छौं । हामी सबै एक हुँदा मात्र विकास सम्भव भएकाले सबै नागरिकमा विकासको भावना होस् भन्न चाहन्छु ।