वर्खायाममा हुने संभावित दुर्घटनाबाट बचौं
सम्पादकीय
वर्खायाम सुरु भएसँगै नागरिकको दैनिकीमा परिवर्तन आउन थालेको छ । बर्खाले नियमित काममा नै प्रभाव पार्ने भएको हुँदा केहि समय सतर्कतासँगै दैनिकी चलाउनुपर्ने हुन्छ । बर्खायाम भनेको जोखिमको समय हो । प्राकृतिक विपत्ति आइपर्ने समय भएकाले ख्याल नगरी हुदैन । यसैले दैनिकी सुरु गर्दा पानी पर्छ कि पदैन, मौसमको अवस्था बारे पूर्व जानकारी लिएर अघि बढ्नुपर्छ । असारे महिना सुरु भएपछि खेतीपाती पनि सुरु हुन्छ । खासगरी मानो रोपेर मुरी उब्जाउने समय भएकाले किसानहरुका लागि विशेष महिना पनि हो । एकातिर उत्पादनको महिना हो भने अर्को तिर विपद्को महिना हो ।
उत्पादनका लागि किसानले काम गर्ने समय हो । अर्कातिर विपदको जोखिम धेरै हुने भएकाले सुरक्षा सतर्कता अपनाउने समय पनि हो । झापा पहिरो भन्दा पनि धेरै बाढीबाट प्रभावित हुने जिल्लामा पर्छ । यहाँका ठुला तथा साना सबै नदीमा बाढीले प्रभावित बनाउने गरेको छ । जनधनको समेत क्षति हुने यहाँ सतर्कता अपनाएर बस्नुपर्छ । कतिबेला बाढी आउछ भन्ने कुनै टुंगो हुदैन । त्यसैले प्रभावित क्षेत्रहरुमा सुरक्षाका लागि सरोकारवाला निकायले पूर्व तयारी गर्नुपर्छ । त्यसका लागि जिल्लामा सुरक्षा यूनिटहरुले अभ्यास पनि गरिसकेका छन् ।
यस्तै, ठुला नदीमा आउने बाढीबाट हुन सक्ने संभावित क्षतिलाई पूर्व अध्ययन गरेर स्थानीय तहहरुले काम गरिरहेको हुनुपर्छ । यदि गरेको छैन भने त्यसको लागि तयारी गर्नैपर्छ । बाढी प्रभावितहरुलाई सुरक्षित ठाउँमा राख्नका लागि संरचनाहरु तयार गरेको हुनुपर्छ । सामान्य खानपानका लागि बेलैमा जोहो पनि गर्नुपर्छ । बर्खाले बाटोहरु पनि हिलो हुने, बाटो भासिने, स–साना पानी जम्ने खाल्डाखुल्डी बन्ने पनि हुन्छ । त्यस्ता ठाउँहरुमा आम नागरिकले सतर्कता अपनाउनुपर्छ । सवारीमा यात्रा गर्दा पनि सवारीहरु भासिन सक्ने, दुर्घटना हुन सक्ने संभावना हुन्छ । साना बालबालिकाहरु पानी खेल्ने, अभिभावकको आँखा छलेर निस्किने हुँदा दुर्घटना हुन सक्छ । यसैले सबैले बर्खायाममा हुने संभावित दुर्घटनाबाट बच्नका लागि सतर्कता अपनाऔं ।