स्नातकमा विद्यार्थी रोक्ने कार्यक्रमको खाँचो
सम्पादकीय
विद्यार्थी अध्ययन गर्दागर्दै पढाई छोड्ने समस्या नयाँ होइन । जब चार वर्षे स्नातक सुरु भयो तब विद्यार्थीहरुले पढाई छोड्नेको संख्या ह्वात्तै बढेर गएको छ । अहिले क्याम्पसहरुलाई विद्यार्थी टिकाउने चिन्ता बढेर गएको छ । स्नातक पहिलो वर्षमा ५ सय विद्यार्थी भर्ना हुँदा चौथो वर्षको परीक्षासम्म पुग्दा २ सय विद्यार्थी अढ्याउन निकै हम्मेहम्मे छ । चार वर्षे स्नातक तहको पठनपाठन सुरु भएपछि पढाई छोड्ने विद्यार्थीहरुको संख्या ठुलो छ । विद्यार्थीहरुले पढाई छोड्न थालेपछि क्याम्पस बचाउन पनि समस्या हुन थालेको छ । क्याम्पस बच्ने भनेको विद्यार्थी रहँदा मात्रै हो । विद्यार्थी नै नरहे पछि क्याम्पस बचाउन अवश्य कठिन हुन्छ ।
पछिल्लो समय क्याम्पस सञ्चालकहरु संस्थाको संरक्षणमा लागेका छन् । विद्यार्थीको पलायन बढेपछि क्याम्पस सञ्चालकहरु चिन्तित छन् । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु पलायन हुने लहड नै चलेको छ । कक्षा १२ अध्ययन सकेपछि विद्यार्थीहरु रोजगारीको खोजीमा हुन्छन् । यहाँ १२ सकेपछि होइन, स्नातक पुरा गर्दा पनि रोजगारीको कुनै ग्यारेन्टी हुदैन । त्यसैले रोजगारी समेत हुने गरी आफ्नो सुरक्षाको खोजीमा विद्यार्थीहरु लागेका हुन्छन् । त्यसैले स्नातक तहमा भर्ना भए पनि पढाई पुरा गर्ने विद्यार्थीको संख्या अति न्यून भइरहेको छ । यसमा मुख्य दोष भनेको राज्य पक्षकै हो । नीति निर्माताकै हो ।
स्नातक तहमा समयमा परीक्षा नहुने, परीक्षा पछि नतिजा समयमा सार्वजनिक नगर्ने जस्ता समस्याहरु हुन्छन् । चार वर्षको स्नातक तह ६ वर्षमा पनि पुरा हुदैन । जसले विद्यार्थीलाई भविष्यप्रति अन्यौल र अभिभावकलाई आर्थिक बोझ बढाइदिने गरेको छ । यहाँका सामुदायिक क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरु कोरिया, जापानमा आफ्नो भविष्य खोजिरहेका छन् भने निजी क्याम्पसमा अध्ययन गर्नेहरु अष्टे«लिया, क्यानडा, अमेरिकामा आफ्नो भविष्य सुरक्षित देखिरहेका छन् । जसका कारण स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु रोक्न सकिरहेको अवस्था छैन । विद्यार्थी रोक्ने हो भने चार वर्षमा स्नातक सकिनुपर्छ । अध्ययनपछि रोजगारको ग्यारेन्टी र पढ्दै कमाउदै गर्ने वातावरण बन्नुपर्छ ।