लागुऔषध बिर्तामोडको ठुलो समस्या : डीएसपी विष्ट
बिर्तामोड । ट्राफिक सप्ताहसँगै झापामा सप्ताहव्यापी लागुऔषध विरुद्धको अभियान सुरु गरिएको छ । एक कार्यक्रमका बीच अभियानको थालनी गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
डीएसपी विष्टले बिर्तामोडको सबैभन्दा ठुलो समस्या लागुऔषध भएको बताए । उनले यहाँ विगतदेखि नै लागुऔषधको समस्या रहेको बताएका छन् । यस क्षेत्रमा लागुऔषध दुव्र्यसनी र कारोबारले जरो गाढेर बसेको उनको भनाई छ । लागुऔषधको बहुआयामिक असर हुने बताउदै उनले यसमा टाढा रहन आग्रह समेत गरेका छन् । भविष्यका कर्णधारहरु लागुऔषधका कारण गलत बाटोमा जान नहुने भन्दै डीएसपी विष्टले सहभागीहरुलाई सचेत गराएका थिए । उनका अनुसार सुधारगृह वृद्धि गर्नुभन्दा लागुऔषध दुव्र्यसनीलाई नियन्त्रण गर्दै जानुपर्छ । सुधार गृहहरुको संख्या बढाउनु भनेको दुव्र्यसनी पनि बढ्दै गएको बुझिन्छ । त्यसैले लागुऔषध दुव्र्यसनलाई नै रोक्न आवश्यक रहेको बताए ।
विगतमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि सोचेजस्तो प्रभावकारी नतिजा ल्याउन नसकेको बताएका छन् । उनले बिर्तामोडसहित झापामा लागुऔषध दुव्र्यसन र कारोवारको अवस्था विकराल भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा बिर्तामोडमा मात्रै ६९ वटा मुद्धा दर्ता गरिएको छ । ११३ जना कारोवारी र सेवनकर्ताहरुलाई कानुनी दायरामा ल्याइएको बताए । यो संख्याले बिर्तामोडमा लागुऔषधको समस्या विकराल रहेको पुष्टि हुने उनको भनाई छ ।