जेष्ठ ४, २०८२ शनिबार

द्रोणाचार्य क्षेत्रीको स्मृतिमा पत्रकारितामाथि चर्चा

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले आयोजना गरेको स्मृति दिवसमा पत्रकारिता अवसर, चुनौति विषयमा चर्चा गरिएको हो ।

बिहीवार बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा आयोजित कार्यक्रममा जनपक्षीय नेता द्रोणाचार्य क्षेत्री कुशल राजनीतिज्ञ, पत्रकार तथा लेखक भएको परिचर्चा गरिएको थियो । इमान्दार नेताको रुपमा स्थापित क्षेत्रीबाट अहिलेका नेता तथा पत्रकारहरुले धेरै कुराहरु सिक्नुपर्ने बताइएको छ ।

अग्रज पत्रकार माधव विद्रोही र मोहनकाजीले द्रोणाचार्य क्षेत्रीको जीवनबाट आफूले सिकेका असल गुणहरुको बारेमा अवगत गराएका थिए । नयाँ पुस्ताका लागि क्षेत्री असल सिकाईको स्रोत हुने उनीहरुको भनाई थियो ।
कार्यक्रममा पत्रकारिताको अवसर र चुनौति विषयक छलफलमा बोल्दै अधिकांश पत्रकारहरुले पाठक तथा स्रोताले खोजे जस्तो पत्रकारिता नभएको धारणा राखेका थिए । पुरानोशैलीबाट अब पत्रकारिता नचल्ने भन्दै नयाँ प्रविधि र सीप आवश्यक भएको धारणा राखेका थिए ।

स्थानीय तहहरुले स्थानीय सञ्चार माध्यमलाई संरक्षण गर्ने गरी नीति निर्माण गर्नुपर्ने अधिकांशको माग थियो । कतिपय स्थानीय तहले मिडिया क्षेत्रलाई वेवास्था गरेका कारण चुनौति थपिदै गएको बताएका थिए ।
पत्रकार पुष्प बरालले पत्रकारिताप्रति नागरिकको विश्वास गुम्दै गएकोले पत्रकारितालाई सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो समय मिडियामा विज्ञापन नै चुनौति भएको बताएका छन् । विज्ञापन अभावका कारण मिडिया क्षेत्र समस्या बढेको बताए ।

पत्रकार हिमाल खरेलले डिजिटल मिडियामा जोड दिनुपर्ने बताए । उनले समयानुकुल मिडिया सञ्चालन गर्नुपर्ने धारणा राखे । यस्तै, पत्रकार एकराज प्रधानले स्थानीय तहसँगै नीजि क्षेत्रबाट पनि स्रोतको खोजी गर्नुपर्ने बताए । उनले मिडिया सञ्चालनमा नीति क्षेत्रको योगदान हुनुपर्ने बताए ।

पत्रकार सुब्रत न्यौपानेले स्थानीय मिडिया संरक्षणको नीति निर्माण गर्नुपर्ने बताए । नीति नबनाएसम्म मिडियाको संरक्षणमा चुनौति हुने उनको भनाई थियो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र जिल्ला इन्चार्ज सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारहरु गोपाल काफ्ले, अर्जुन कार्की, प्रदीप परियार, रामप्रसाद निरोला, राह्यारी राजवंशी लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : असार ८, २०८१ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]