जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडमा वर्षेनी घट्दैछ नयाँ घर निर्माण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा नयाँ घर निर्माण घट्दो क्रममा छ । कोभिडपछि नयाँ घर निर्माण गर्नेहरुको संख्या घट्दै गएको तथ्याङक छ ।

आर्थिक वर्ष ०७८-७९ मा नयाँ घर निर्माणका लागि बिर्तामोड नगरपालिकामा ३३० वटा घर निर्माणका लागि नक्सा पास गर्न लागि आवेदन दिएका थिए । बिर्तामोड नगरपालिका घर नक्सा शाखाका इन्जिनियर प्रभास थापा मगरले वर्षेनी नयाँ घर नक्सा पास गर्न आउनेको संख्या घट्दै गएको जानकारी दिएका छन् ।

आर्थिक वर्ष ०७९ -८० मा २१४ वटा घर निर्माणका लागि घरधनीले निवेदन दिएका थिए । चालु आर्थिक वर्षको अन्त्यमा आइपुग्दा १९६ वटा नयाँ घर निर्माणका निवेदन आएको उनले जानकारी दिए । तीन वटा आर्थिक वर्षको तथ्याङकले नयाँ घर निर्माणका लागि नक्सा पास गर्न आउनेको संख्या घट्दै गइरहेको छ । उनले आर्थिक मन्दीले पनि घर निर्माणलाई प्रभावित बनाएको हुन सक्ने अनुमान गरेका छन् ।

नयाँ घर निर्माणका लागि नक्सा पास र पुरानो घरको अभिलेख राख्दै आएको बिर्तामोड नगरपालिकाले अभिलेख राख्नेहरुको संख्या नयाँभन्दा धेरै भएको जनाएको छ । ०७८-७९ मा २६१, आ.व.०७९-८० मा ३२० र चालु आर्थिक वर्षमा २८० वटा घरको अभिलेख राखिएको मगरले जनाए ।

इन्जिनियर मगरका अनुसार बिर्तामोडमा व्यवसायिक र आवासीय भवन बन्ने गरेको छ । उनले धेरैजसो आवासीय भवन बनिरहेको जानकारी दिएका छन् । राष्ट्रिय भवन संहिता बमोजिम नयाँ घर निर्माणको नक्सा पास गर्ने गरेको उनको भनाई छ ।

घर निर्माणका लागि आवासीयलाई ५ र व्यवसायिक भवनलाई ७ फिट बाटोको भाग छोडेर निर्माण गर्न अनुमति दिइने गरिएको छ । मापदण्ड पुरा गरेर घर निर्माण गर्नेहरुलाई घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिइने गरिएको मगरको भनाई छ । इजाजत पुरा नगरी बनाएको खण्डमा अभिलेख मात्रै राख्ने गरिएको छ । घर निर्माणका लागि इजाजत दिएपछि नगरको तर्फबाट अनुगमन समेत हुने गरेको छ ।
घर निर्माण गर्दा ९५ प्रतिशत घरधनीले मापदण्ड पुरा गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : असार १८, २०८१ सोमबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]