मावि तहबाट प्राविधिक शिक्षामा जाऔं
सम्पादकीय
हालै सार्वजनिक एसईईको परीक्षाफलले सबैलाई चिन्तित बनाएको छ । अनपेक्षित नतिजाका कारण शैक्षिक सरोकारवालामा तनावमा छन् । एसईईको गुणस्तरमाथि नै प्रश्न उठाएको नतिजाले शिक्षामा खुला छलफल प्रारम्भ गर्नुपर्ने अवस्था आएको छ । विद्यालय संवद्ध व्यक्ति मात्र होइन, सिंगो समाजले यस घटनालाई शिक्षाको रुपमा लिएर सुधार गर्न तर्फ केन्द्रीत हुनुपर्छ । एकातिर बेरोजगार उत्पादन गर्ने पाठ्यक्रम भन्दै आलोचना भइरहेको बेला शैक्षिक जीवनको महत्वपूर्ण खुड्किलोमा ठक्कर खानु दुखद् पक्ष हो । यसैले शिक्षामा गुणस्तर सुधार गर्नका लागि सबैको प्रयास हुनुपर्ने छ ।
शैक्षिक संस्थाले पठनपाठनको विधिलाई व्यापक रुपमा परिमार्जन गर्न आवश्यक छ । शिक्षकले मेहनत गर्नुपर्ने देखिन्छ । जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिनुपर्छ । व्यवहारिक सिकाईलाई प्राथमिकता दिनुपर्छ । विद्यार्थीहरुले कक्षा ११ र १२ मा अध्ययन गर्ने विषय प्राविधिक हुनुपर्ने माग बढ्दो छ । बिर्तामोडमा रहेको देवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु गर्न लागेको छ । देवी माविले दुई वर्ष होटल शिक्षा प्रदान गर्दा एउटा विद्यार्थी सीप सिकेर रोजगारी गर्नका लागि तयार हुन्छ । त्यसैले अध्ययन लगत्तै रोजगारीका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक छ ।
हरेक विद्यालयले अब प्राविधिक शिक्षामा जोड दिनुपर्छ । सिद्धान्त मात्रै पढाउने हो भने विद्यार्थीहरुले ज्ञान प्राप्त गर्न सक्छन्, तर सीप हासिल गर्ने छैनन् । यहाँ विद्यार्थीलाई आर्थिक जीवन बलियो बनाउनका लागि बेलैमा सीप सिक्न जरुरी छ । यसैले शैक्षिक संस्थाहरुले प्राविधिक शिक्षा तर्फ ध्यान दिन अपरिहार्य छ । नेपाल बाहिर विद्यार्थीहरु लस्करै जानुको कारण पनि पढ्दै कमाउदै गर्न पाइन्छ भनेर हो । यहाँ पनि त्यो वातावरण मिलाउन सकिन्छ । त्यसका लागि सीप र इमान्दारिता जरुरी पर्छ । बिर्तामोडमा आवश्यक परेको बेला इलेक्ट्रिसीयन खोज्दा पाइदैन । एसी विग्रियो भने काम गर्ने मेकानिक भेटिदैन । त्यसैले प्राविधिक जनशक्तिको ठुलो खाँचो छ । शिक्षा सरोकार क्षेत्रले यस तर्फ ख्याल गर्नुपर्छ । त्यसको अभिभावकीय भूमिका स्थानीय सरकारले निर्वाह गर्नुपर्छ ।