रगत समूह टिपाऔं
सम्पादकीय
झापामा वर्खायामसँगै रक्तदान गर्नेहरुको संख्या घटेको छ । रक्तदाता घटेपछि आवश्यक मात्रामा रगतको आवश्यकता परिपुर्ति हुन सकिरहेको छैन । वर्खायाममा अन्य समयजस्तो रक्तदान गर्न सर्वसाधारण नागरिकहरु आउन सकिरहेका छैनन् । वर्खा, झरीका कारण रक्तदानको कार्यक्रमहरु पनि आयोजना हुन सकिरहेको छैन । सडक दुर्घटना, बाढी पहिरोमा परेका घाइतेहरुको उपचार र डाइलसिसका लागि अत्याधिक रगतको माग हुने गरेको छ । जिल्लाका सबैजसो अस्पतालहरुमा डाइmसिस सेवा सुरु भएकाले झनै खपत बढेको छ । यसैले रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्न आवश्यक छ ।
झापामा दैनिक सरदर ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । यो मागलाई पुरा गर्ने अवस्थामा पनि रगत रेडक्रससँग नभइरहेको अवस्था छ । गत असरा १४ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेपछि जिल्लामा ठुलो रक्तदान कार्यक्रम आयोजना हुन सकेको छैन । रक्तदान कार्यक्रम नभएपछि स्वभाविक रुपमा रगतको अभाव हुने गरेको छ । जिल्लामा प्रत्येक वर्ष २० हजार युनिट रगत खपत हुदै आएको छ । अबका वर्षहरुमा उक्त युनिट बढेर जाने निश्चित छ । किनभने, डाइलसिस सेवाका कारण माग बढ्नेछ ।
यहाँ एक हजार मानिसहरु मात्रै नियमित रक्तदाताहरु रहेका छन् । झापामा कुल रक्तदाता (नियमित, अनियमित) को संख्या करीब छ हजार । त्यो संख्यामा रक्तदाता हुँदा पनि माग धान्ने अवस्था छैन । यस्तो परिस्थितिमा जिल्लाका सामाजिक संघ संस्थाहरुले रक्तदानका लागि वातावरण तयार गर्नुपर्छ । त्यसका लागि रेडक्रसको भूमिका पनि उत्तिकै हुन जरुरी छ । अर्कातिर, रक्तदान कार्यक्रम नभए पनि रगत दान गर्न चाहनेहरुले आफ्नो रगतको समूह र सम्पर्क नम्बर नजिकैको ब्लड बैंकहरुमा उपलब्ध गराऔं । किनभने, रगत आवश्यक पर्ने विरामीहरुका लागि कसैले पनि खोज्न तड्पिनु नपरोस् । रक्तदान जीवन दान हो, आफ्नो जीवनमा रगतको महत्व कति छ ? त्यति नै अन्य मान्छेहरुलाई पनि छ भन्ने सोचेर रक्तदानमा सरिक हौं ।