बिएण्डसीमा साउन १ गतेबाट स्वास्थ्य बीमाको सेवा पाइने
बिर्तामोड । बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै बिएण्डसीका प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिए ।
उनका अनुसार १० वटा दर्ता काउन्टरबाट विरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने गिरीको भनाई छ । बिएण्डसीमा रेफर गरेर आएका बिमितहरुले उपाचार पाउने छन्, उनले भने – इमरजेन्सीहरुको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य बीमाबाट उपचार गर्न पाइनेछ ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौता बमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन लागेको गिरीले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरुलाई औषधी, स्वास्थ्य परीक्षणहरु, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ । बिएण्डसी अस्पतालमा २४ सै घण्टा ईमरजेन्सी सेवा सहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरु रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटि स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिदै आइरहेको मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादवले जानकारी दिए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्न यस अस्पतालमा, एमडी, एमसीएच, एमएस गरेका वरिष्ट चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरुले सेवा दिने छन् ।
प्रवक्ता गिरीका अनुसार उपचारमा आउने बिरामीहरुको लागि कुरुवा कक्ष, प्रविधिमैत्री वातावरणमा उचार प्रदान गरिनेछ ।