बैशाख २४, २०८२ बुधबार

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोडका प्रशिक्षक अख्तियार जाने

बिर्तामोड । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका प्रशिक्षकहरु अख्तियार जाने भएका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ बेलडाँगीमा रहेको प्रतिष्ठानद्वारा सञ्चालित प्राविधिक शिक्षालयका प्रशिक्षकहरुले सञ्चालक समितिका पदाधिकारी सदस्यहरुमाथि छानविनको माग गर्दै अख्तियार जाने बताएका हुन् ।

महिनौदेखि प्रशिक्षक र कर्मचारीहरुलाई तलव नदिएपछि उनीहरुले शुक्रवार शिक्षालयको परिसरमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संस्थापक प्रशिक्षक नविन किशोर विमलीले यसअघि भएका सहमतिहरु कार्यान्वायन नगरी व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु सम्पर्कमा समेत नआएको भन्दै विभिन्न आन्दोललनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत माग पुरा नभएसम्म प्रशासन कार्यालयको ताला नखोल्ने, प्रशिक्षकहरुको सामूहिक राजीनामा स्वीकृत गरी निशर्त प्राप्त गर्नुपर्ने पारिश्रमिक भुक्तानी दिनुपर्ने, सञ्चालक समिति असक्षम सावित भइसकेकाले राजीनामा दिनुपर्ने, सम्बन्धित सरोकारवालाई जानकारी दिदैं धर्ना कार्यक्रमहरु सञ्चालन गर्ने, सिटिइभिटी र प्रतिष्ठानकोे वेथितीबारे लिखित पत्राचार गर्ने र जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्धा जाहेरी दिने लगायतका कार्यक्रमहरु अघि सारिएको विमलीले जानकारी दिए ।

प्रशिक्षकले तलव नपाएको, प्रयोगात्मक कक्षा सञ्चालन गर्न नपाएको र विद्यार्थीहरुले नियमित कक्षा नभएको भन्दै आपत्ति जनाउदै आएका छन् । उक्त समस्याहरुप्रति व्यवस्थापन समिति गैरजिम्मेवार भएको विद्यार्थीहरुको भनाई छ ।

सोही विषयहरुलाई लिएर केहिदिन अघि भएको छलफलले कुनै पनि निकास नदिएपछि प्रशिक्षकहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

२० जना प्रशिक्षकको करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक बिमलीको भनाई छ । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – त्यो रकम अहिलेसम्म प्राप्त हुन सकेको छैन । विद्यार्थीहरुले सबै रकम फिर्ताको माग गर्दै अर्को प्राविधिक शिक्षालयमा स्थान्तरणको समेत माग गरिरहेका छन् ।

शिक्षालयले हरेक विद्यार्थीहरुसँग १ लाख ७० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म रकम लिने गरिएको छ । बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान पठनपाठन गरिरहेको प्रतिष्ठानका अध्यक्ष ज्योतीसिंह दर्लामीले स्रोत व्यवस्थापनमा कठिनाई भएकाले भुक्तानी समयमा गर्न नसकेको स्वीकार गरेका छन् ।

यता, पास आउट भएका विद्यार्थीहरुले सर्टिफिकेट नपाएको, धरौटी वापत बुझाएको रकम फिर्ता नपाएको र छात्रवृत्ति पाउने विद्यार्थीहरुले बुझाएको लाखौं रुपैयाँ समेत फिर्ता नभएको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]