बैशाख २४, २०८२ बुधबार

करेलाबारीको वास्तविकता अध्ययन गरियोस्

सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा अवस्थित छ, करेलाबारी बस्ती । जहाँ ४० परिवार सुकुम्बासी रहेको छ । सुकुम्बासीमा बसोबास गर्ने नागरिकहरुका अनुसार उनीहरु २०२३ देखि बसोबास गरिरहेका छन् । वर्षौदेखि त्यहाँ बसिरहेका करेलाबारीका बासिन्दाहरुलाई अहिले पुरानै तनाव दोहोरिएको छ । विगतमा पनि उनीहरुलाई उठिबास लगाउने प्रपञ्च भएको आरोप लाग्न गरेको छ । अहिले पनि उठिबास लाग्ने चिन्ताले त्रसित भइरहेका छन् । करेलाबारी बस्ती सुकुम्बासी क्षेत्र हो । अदुवा खोला किनारमा बसोबास गर्ने नागरिकहरुले फोहोर सफाई गरेर त्यहाँ बसेको प्रतिक्रिया दिने गरेका छन् ।

करेलाबारी क्षेत्रमा अदुवा खोला छ । खोलाको दुवै भागलाई एउटै नामले सम्बोधन गर्ने गरिएको छ । पश्चिम क्षेत्रमा सुकुम्बासी बस्ती छ । दैनिक ज्याला मजदुरी गरेर बस्ने परिवार जग्गा फुत्किने डरले दिन गुजारिरहेका छन् । सट्टाभर्नाको जग्गालाई अनुप कुमारी लिम्बुनीले सरस्वति ढकाललाई विक्री गरिएको भन्ने गरिन्छ । ढकालको तर्फबाट सम्बन्धमा भतिज पर्ने लक्ष्मण बस्नेतले जग्गाको वारेसनामा लिएर आवश्यक काम गरिरहेका छन् । तर, बस्नेतको गतिविधिलाई सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले शंकाको दृष्टिबाट हेरिरहेका छन् । स्थानीय नागरिकले गरेको शंका जस्तै हो वा फरक हो भन्ने कुरामा बस्नेतले नै स्पष्ट पार्न सक्नुपर्छ ।

जग्गाधनी भनिएको परिवारले दावी गरेको जग्गामा घर बनेका छन् । एकातिर सुकुम्बासी बस्ती छ भने पूर्व भागमा ठुला घरहरु बनेका छन् । घर बनाउनेहरुले जग्गाको प्रमाण देखाउन तयार छन् । बस्नेत पनि जग्गाको सबै प्रमाण रहेको बताइरहेका छन् । उनीहरुले दावी गरेको ठाउँ खोला पूर्व भन्न थालिएको छ । कहिले पश्चिम, कहिले पूर्व भागमा दावी गर्ने सन्दर्भले थप शंका उब्जाएको छ । यसैले जमिनको वास्तविकता के हो ? खोजी हुन जरुरी छ । सधै सबैलाई तनाव हुने काम अब बन्द हुनुपर्छ । नगरपालिकाले सरकारी जग्गा भनेर सम्बन्धित ठाउँमा प्रतिवेदन नै बुझाई सकेको छ । व्यक्तिले मालपोल बुझाउन आउँदा अस्वीकार गर्ने गरिएको छ । त्यसैले जमिनमाथि पनि आशंका प्रशस्त छन् । अब यो करेलाबारीको जमिनको तनावलाई सधैका लागि अन्त्य गर्न उच्च स्तरीय समिति बनाई वास्तविकता अध्ययन गर्न अपरिहार्य छ ।

प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]