जेष्ठ ४, २०८२ शनिबार

‘अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा’

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।  मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उहाँले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउने काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रिज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभागमार्फत काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्वसांसद विशाल भट्टराईलगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गर्नुभएको थियो । मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउन देशैभरका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताउनुभयो ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरुसँग समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]