जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोड–भद्रपुर सडक प्राथमिकतामा : मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले सदरमुका जोड्ने सडक अन्य सडकहरुको तुलनामा प्राथमिकतमा रहेको बताएका हुन् ।

नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री दाहालले झापामा कयौं योजनाहरुमध्ये बिर्तामोड–भद्रपुर र दमक–रवि–चिसापानी सडक खण्ड प्राथमिकतमा रहेको बताए । उनले झापाको विकासमा प्राथमिकताका आधारमा काम गर्दै जाने बताए । सबै भौतिक पूर्वाधार, सडक, पुल संरचनाहरु प्राथमिकतामा रहेको उनको भनाई छ ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका दाहालले जिल्लाबासीहरुलाई विकास योजना लिएर आउँदा प्राथमिकता छुट्टाएर मात्रै आउन आग्रह गरे । सबै योजनाहरुको काम तत्कालै गर्न सकिन्न, त्यसैले फाइल बोकेर आउँदा प्राथमिकता छुट्टाएर आउनुहोस् । देशभरको विकास योजनाहरु मन्त्रालयमा आइरहेका हुन्छन्, उनले भने – सबैले प्राथमिकता छुट्टाएरै आउनुपर्छ । झापाको हकमा मन्त्रालयले बिर्तामोड–भद्रपुर सडक मुख्य प्राथमिकतामा रहेको छ ।

यस्तै मन्त्री दाहालले अवरुद्ध सडकका कारण दशैंमा घर जान नपाइएला कि भन्ने चिन्ता नलिन आग्रह समेत गरेका छन् । उनले देशभरका सबै अवरुद्ध सडकहरु खुलाइने बताए । विकल्प नै नभएका बाहेक सबै सडकहरु सूचारु हुने उनको भनाई थियो ।

उनले हुलाकी मार्गमा रहेको कनकाई पुलको बाँकी काम पनि अब सुरु हुने बताएका छन् । मन्त्री दाहाललाई स्वागत सम्मानका साथैं योजनाहरुबारे नेकपा एमालेले स्मरणपत्र बुझाएको छ । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा जिल्लाको बहुआयामिक महत्व दर्शाउँदै स्मरणपत्र बुझाएका हुन् ।

उक्त स्मरण पत्रमा भनिएको छ – पूर्वी नेपालको झापा जिल्लाले भारत, भुटान र बंगलादेशसँग नजिकको भौगोलिक अवस्थितिसहित त्रिदेशीय सम्बन्ध राखेको छ । साबिक मेची अञ्चलका पहाडी जिल्लाहरुको मुख्य ट्रान्जिट प्वाइन्ट झापा हो । विमानस्थल, ठूला होटेलहरु, निजी तथा सरकारी स्तरबाट सञ्चालित अस्पतालहरु, प्राविधिक शिक्षालय, ब्यापार तथा पारवहन सेवा, पर्यटन, मनोरञ्जन आदि सेवा लिनका लागि छिमेकी मुलुकका पर्यटकहरु झापा आउने गर्दछन् । यहाँको मौलिक बाली सुपारीसहित चिया खेती, दूध उत्पादनमा अग्रणी, अन्न, तरकारी र मासुजन्य उत्पादन, प्राकृतिक रबर खेती र प्रशोधन, लाहा खेती र प्रशोधन यो जिल्लाका कृषि मौलिकता र परिचय हुन् । यी सबै सम्बन्धहरुलाई यातायातले जोड्नुपर्दछ । जिल्लामा सडक पूल निर्माणका थुप्रै कामहरु भइरहेका छन् । धेरै योजनाहरु अधुरा छन् । यसै सम्बन्धी केही विषयहरू अध्ययन गरी कार्यान्वयन गरिदिनका लागि माननीय मन्त्रीज्यू समक्ष जिल्ला भ्रमणका अवसरमा सादर अनुरोध गर्दछौं ।

अध्यक्ष प्रेम गिरीले हस्ताक्षर गरी वाचन पछि हस्तान्तरण गरिएको सो स्मरण पत्रमा भनिएको छ, झापामा निर्माण कार्य भइरहेका सडक र पूलहरु रकम अभावमा अलपत्र र अधुरो अवस्थामा छन् । तिनीहरुको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदछौं ।

स्मरण पत्रमा हुलाकी राजमार्ग, एशियन हाइवे, मदन भण्डारी राजमार्ग र रेलमार्ग अन्तर्गतका सडक पूलहरुको काममा देखापरेका सबै असजिलाहरुको हल गरी अबिलम्ब निर्माण कार्य सुचारु गराउनु पर्नेछ, केचना–कन्चनजंङ्घा अन्तर्देशीय सडक साबिक मेची अञ्चलको लाइफलाइन हो । यसको निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी द्रुतगतिमा निर्माण कार्य हुन आवश्यक देखिन्छ, इलामको भालुखोपदेखि खुदुनाबारी हुँदै बिर्तामोड तथा दुर्गापुर जोड्ने सडकले मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्गलाई समेत जोडेको छ । यो सडक कृषि–ब्यापार–आवागमनका साथै रणनीतिक महत्वको लिङ्करोड हो । यसको डिपीआर भएर बजेट किताबमा समावेश भएको तर बजेट अभावमा धिमा गतिमा काम हुने गरेको पाइएकाले पर्याप्त बजेटको व्यवस्थापनका लागि माननीय मन्त्रीज्यूसमक्ष विशेष आग्रह गर्दछौं ।

दमक–चिसापानी सडक तराई र पहाडको विविध सामुदायिक अन्तरघुलनको एउटा आयाम हो । यो काम प्राथमिकताका साथ अघि बढाउन विशेष अनुरोध गर्दछौं । झापाको प्रत्येक संघीय र प्रदेश निर्वाचन क्षेत्रमा पर्ने गरी निम्नानुसार सडक र पूलको योजना माग गर्दछौं । प्रस्तावित सडक र पूल एलएमबिआइएसमा समावेश भएका मध्येबाट हुनेछन् । क्षेत्र नंं. १ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र नं. २ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र नं. ३ मा दुई वटा सडक र तीनवटा पूल, क्षेत्र नं. ४ मा एउटा सडक र दुईवटा पूल र क्षेत्र नं। ५ मा एउटा सडक र दुईवटा पूलको अत्यन्त आवश्यकता छ ।

बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै यातायात मन्त्रालयको नामको जमिन प्रयोगबिहीन अवस्थामा छ । सरकारले उपयुक्त आवश्यकता अध्ययन गरी कार्यान्वयन गर्नुपर्दछ । रेलमार्गको विषयमा उपयुक्त निकास अविलम्ब निकाल्न अनुरोध गर्दछौं । वर्षौंदेखि सयौं परिवार रेल परियोजनाका लागि रोक्का गरिएको जमिनको मुआव्जा प्रदान गरेर वा रोक्का फुक्का गरी उहाँहरुलाई न्याय प्रदान गरिनु अत्यन्त आवश्यक देखिन्छ ।

झापाको कनकाई वा शिवसताक्षीलाई स्टेसन (केन्द्र) आधार मानी इलामको विभिन्न भुभागमा जोड्ने विद्युतीय आकाश मार्गको सम्भाब्यता अध्ययन गर्न सुझाव प्रस्तुत गर्दछौं । यस्तो कार्यमा निजीक्षेत्र वा पीपी मोड्युलमा सञ्चालन गर्न पनि सकिन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थितिमा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव तुलसी कार्कीले गरेका थिए । सो कार्यक्रममा मन्त्री बनेपछि पहिलोपटक झापा आएका दाहाललाई जिल्ला पार्टीको तर्फबाट दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो । अभिनन्दनपत्रको वाचन उपाध्यक्ष शिव ढुंगेलले गरेका थिए ।
बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अधुरा रहेका बाटोको निर्माणमा मन्त्रीको ध्यानाकर्ष गराएकी थिइन् ।

प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]