फस्टाउँदै झिनिया व्यवसाय, बन्दै आम्दानीको स्रोत
पाल्पा – पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरूको व्यस्त बढेको छ ।
तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउँछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् । हाल नौजना कामदार झिनिया उत्पादनमा खटेका छन् । ‘चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ’, उनले भने ।
उनले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहेका छन् । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आएका छन् । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एकरदुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उनी बताउँछन् ।
रामपुर उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्षसमेत रहेका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी हुन् । पछिल्लो समय उनले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको बताए ।
उनले भने, ‘सहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्री राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैँले जानी नजानिकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यवसायको रुपमा थालनी गरेको हुँ ।’
हाल खुद्रा मूल्य एक सय र थोक मूल्य ९० रुपैयाँमा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताउँछन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् ।