बिर्तामोडमा धमाधम कालोपत्रे, यसपछि गोकुल मार्गमा
बिर्तामोड । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोडमा शाखा सडकहरु विग्रिदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पछिल्लो समय नगरपालिकाले प्राथमिकताका आधारमा सडकको मर्मत संभारसँगै कालोपत्रे गरिरहेको छ ।
छठ पर्वपछि बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । आइतबार शनिश्चरे रोडदेखि अदुवा पुल र कृष्ण हल– वनस्टप सडकमा कालोपत्रे गरिएको छ ।
आज कृष्ण हल–शनिश्चरे रोड र कृष्ण हल–अतिथिसदनसम्मको बाँकी काम सकिने बिर्तामोड नगरपालिकाका सवइन्जिनियर डिल्लीराम ओलीले जानकारी दिए । उनका अनुसार दुई दिनभित्र ३ वटा सडक कालोपत्रेको काम सकिदैछ ।
बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरिएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिश्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक आजसम्म सक्ने बिर्तामोड नगरपालिकाका सव–ईन्जिनियर ओलीको भनाई छ ।
कुल ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको थियो । दशैँ अगाडी नै कालोपत्रे गरिने योजना भएपनि अविरल वर्षाको कारण ढिलाई भएको थियो ।
सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताइन् ।
उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । “हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम ग¥यौ”, उनले भनिन्, “अबको लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने छ ।”
नगर क्षेत्रमा एक सय ८४ ठुला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक बिछ्याउने काम भएको छ । सो अवधिमा विपन्न समुदायका लागि पाँच सय ३७ आवास निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिए । उनका अनुसार पालिकाले तीन वटा झोलुङ्गे पुल, आठ वटा फलामे पुल र दुई सय ३४ किलोमिटर क्षेत्रमा तटबन्ध गरेको छ ।
खानेपानीका लागि छ हजार तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरेको छ । आगामी पाँच वर्षभित्रमा प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिइएको छ । नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेर सेवा दिइरहेको छ ।
सव–इन्जिनियर ओलीका अनुसार यसपछि देउनियास्थित सेन्ट जेभियर जाने बाटो र गोकुल जोशी मार्गमा कालोपत्रे गरिनेछ ।