‘मेरो पैसा फिर्ता गरिदिने भनेपछि समाजसेवी सहकारीको उपाध्यक्ष बसिदिएँ’
असोज ९ गते नै पदबाट राजीनामा
बिर्तामोड । समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका अध्यक्ष विष्णु अधिकारीले आफूलाई संस्थाको उपाध्यक्ष बनेपछि आफ्नो बचत रकम फिर्ता गरिदिने आश्वासन दिएको तारादेवी रायले खुलासा गरेकी छन् । चेली माइतीको साइनो लगाउँदै अधिकारीले पैसा फिर्ता गरिदिने भनेपछि उपाध्यक्षमा बसिदिएको उनले बताएकी छन् ।
संस्थाका अध्यक्ष अधिकारीले भने संस्थाको गत भदौ १५ गते सम्पन्न साधारणसभाबाट उपाध्यक्ष बने पनि राय संस्थाप्रति जिम्मेवार नबनेको आरोप लगाउँदै आएका छन् । २० लाख रुपैयाँ बचत गरेर पनि बिरामी पर्दा संस्थाले ब्याज बापत पाउनुपर्ने रकम समेत रायलाई उपलब्ध नगराएको विषय सार्वजनिक गरेसँगै संस्थाको उपाध्यक्ष समेत भएको व्यक्ति जिम्मेवार रुपमा प्रस्तुत नभएको उनको भनाइ छ । अध्यक्ष भन्छन्, ‘संस्था अहिले धरासयी भएको बेला उपाध्यक्षले साथ दिनुपर्ने हो ।’
रायले आफूलाई अध्यक्ष अधिकारीले पैसा फिर्ता गरिदिने लोभ देखाएर उपाध्यक्षमा राखेको दाबी गरेकी छन् । उनले भनिन्, ‘म वृद्ध मान्छे मलाई केही थाहा छैन ।’ पैसा फिर्ता नभइरहेको बेला फिर्ता गरिदिने भनेपछि त्यही आशामा उपाध्यक्ष बसिदिएको स्वीकार गरिन् । उनले असोज ९ गते नै पदबाट राजीनामा बुझाइसकेको जानकारी दिइन् । ‘मैले संस्थाभित्र खासै ठिक व्यवहार देखिनँ, त्यही भएर राजीनामा दिएँ’, उनले भनिन्, ‘मलाई मेरो पैसा दिलाइदिने भनेपछि हुन्छ मात्रै भनेको थिएँ ।’ २६ महिनादेखी ब्याज नपाएका कारण घर परिवारको खर्च, बिरामीको औषधि उपचारमा अति कष्ट भएको उनको भनाइ छ ।
लामो समयदेखि उपचाररत तारादेवी राय र उनको श्रीमान् हेमबहादुर राय उपचार खर्चको अभावमा तड्पिरहेका छन् । बिएण्डसी अस्पतालमा उपचाररत हेमबहादुरलाई डिस्चार्ज गर्न पैसा नहुँदा सहकारीका वर्तमान अध्यक्ष अधिकारीलाई पैसा जुटाइदिन आग्रह गर्दा उनले चासो नै नदिएको पीडित परिवारको भनाइ छ । ०७८ सालमा राय परिवारले औषधि उपचार गर्न भन्दै समाजसेवी बहुउद्देश्यीय सहकारी संस्थामा ५ वर्षे खातामा २० लाख रुपैयाँ जम्मा गरेका थिए । छोरीज्वाइँले औषधि उपचारका लागि जम्मा गरिदिएको पैसाबाट आउने ब्याज नपाइरहेको बताइन् ।
शिखर साकोस बिर्तामोडका तत्कालिन कर्मचारी मोहन बजगाईंले समाजसेवी साकोसमा पैसा जम्मा गर्न भनेर सुझाव दिएपछि आफूले त्यहाँ राखेको रायको भनाइ छ । पैसा जम्मा गर्दाका तत्कालिन अध्यक्ष लक्ष्मण दाहालले समेत पैसाको सुरक्षासँगै समयमा व्याज पाइने र परिस्थिति अनुसार साँवा पनि पाइने आश्वासन दिएका थिए ।
तत्कालिन अध्यक्ष दाहालपछि तीन वटा कार्यसमिति परिवर्तन भइसकेको छ । आफ्नो कार्यकालको कारोवारमा जिम्मेवार बन्नुहुन्छ भन्ने जिज्ञासामा दाहालले भने, ‘अहिले पनि संस्था भन्दा बाहिर छैन । सल्लाहारको जिम्मेवारीमा छु । त्यो बेला अध्यक्ष म भए पनि सिंगो कार्यसमिति, त्यसपछिको कार्यसमिति पनि संस्थाप्रति जिम्मेवार रहेको छ ।’ बिर्तामोड-२ स्थित पञ्चरत्न माविको प्रअ र सहकारीको अध्यक्ष हुन नमिल्ने भएपछि सहकारीको नेतृत्वबाट बाहिर गएको उनको भनाइ छ ।
सहकारीमा अहिले अधिकारी अध्यक्ष भए पनि संस्थाको सबै काममा दाहाल नै प्रमुख व्यक्ति रहेको बताइएको छ । अधिकारीलाई ‘देखावटी’ अध्यक्ष मात्रै भएको आरोप समेत लगाइएको छ । दाहालले अब केही समयमै संस्था ठिक ट्रयाकमा आउने दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस् –
बिर्तामोडको समाजसेवी सहकारीले सुनेन विरामी बचतकर्ताको हारगुहार