जेष्ठ १, २०८२ बुधबार

सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पाँचथरका सुनिल राई पक्राउ

बिर्तामोड । अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ ।

‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनलाई बुधबार सार्वजनिक गरिएको हो ।

अनुसन्धान गर्दा उनले ७५ वटा बैक खाता, एक सय २८ वटा ईसेवा वालेट प्रयोग गरी रु ५५ करोड २० लाख कारोबार गरेको फेला परेको पनि आचार्यले जानकारी दिनुभयो । यस्तै राईले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धान विवरणमा उल्लेख छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएका छन् । उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने-गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ ।

उनीमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]