पत्रकारको चुनाव पार्टीको जस्तो भयो, सच्याउनुहोस् : मुख्यमन्त्री कार्की
बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार महासंघको निर्वाचन राजनीतिक दलको जस्तो मारामार भएको बताएका छन् । उनले पेशागत क्षेत्रको निर्वाचन दलहरुको जस्तो नगर्न सूझाव दिए ।
कोशी प्रदेश र जिल्ला कार्यसमितिमा निर्वाचितहरुलाई मंगलवार मुख्यमन्त्रीको कार्यलयमा बधाई ज्ञापन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारको नेतृत्व सर्वसम्मतबाट चयन हुनुपर्ने धारणा राखे । नोमिनेशन, चुनाव, मारामारको परिस्थिति आउन दिन हुदैन, कार्कीले भने – चुनाव राजनीतिक पार्टीको जस्तो भयो । सकिन्छ भने सच्याउनु होला ।
पेशाको विकास र समृद्धिका लागि दलहरुको जस्तो निर्वाचन गर्ने परम्परा सच्याएर जान आग्रह गरेका छन् । पत्रकारहरुले दलहरुको नराम्रा अभ्यास सच्याउनुपर्नेमा उल्टै उस्तै अभ्यास गरेकोमा मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरेका छन् ।