कमलादीको कलभर्ट उद्घाटन, यातायात बन्यो सहज
काठमाडौ । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा यातायात आवागमन सहज बनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गर्नु भएको हो । ४.८४ मी. लामो र १२ मिटर चौडा उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौको व्यस्ता कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तिव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरि विस्तृत अध्ययन गराएको थियो ।
प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो ।
मन्त्री दाहालको निर्देशन पश्चात पुन साउन २८ गते विज्ञहरुले निरीक्षण गरि भोलिपल्टनै लागत अनुमान तयार पारि स्विकृत गरिएको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमडौ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंशिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो ।
राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रकृयाले पनि निर्माण कार्यमा केहि ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दशैं, पुरातत्वविभागसँग सहमति लिनु पर्ने प्रकृया लगायतका चुनौती विच पनि निर्धारित समय भन्दा अघिनै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जनाउनु भएको थियो ।