उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो । यो स्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् ।
गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने बताउनुभएको छ । आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उहाँहरूले जित आफ्नो पक्षमा पर्ने बताउनुभएको हो ।