बैशाख २४, २०८२ बुधबार

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर, १५ पुस – पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ ।

पाँचथरको फिदिममा साेमबार सम्पन्न ११औँ फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको उपाधि विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका खेलाडी तथा प्रशिक्षक । तस्बिर : रवीन्द्र काफ्ले/रासस

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो ।

उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित मिति : पुष १५, २०८१ सोमबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]