सामुदायिक एकतासँगै भाक्का दिवस एकै ठाउँमा मनाइयोस् : मन्त्री कार्की
बिर्तामोड । कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले राजवंशी समुदायबीच एकता मेलमिलाप चाहेको बताएका छन् । उनले समुदायको एकता अनिवार्य भएको बताएका हुन् ।
आज झापाको बिर्तामोडस्थित डोमाला रंगशालामा आठौँ राष्ट्रिय भक्का दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले मेलमिलापको वातावरण बनाएर एकै ठाउँमा भाक्का दिवस मनाउन आग्रह गरे ।
मन्त्री कार्कीले आयोजक संस्थाहरुबीचको समस्याले विभिन्न ठाउँमा अलग–अलग भाक्का दिवस मनाइरहेको देखेको बताए । उनले सबैका बीचमा एकताको सन्देश दिन एकै ठाउँमा राष्ट्रिय भाक्का दिवस मनाउन सूझाव दिए ।
मन्त्री कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै आवश्यकताका आधारमा सहयोग गर्न सरकार तयार रहेको बताए । संस्कार र संस्कृतिको संरक्षण हुन नसके जातीय अस्तित्व समाप्त हुने मन्त्री कार्कीको धारणा थियो ।
सरकारले सबै जातजाति र भाषाभाषीको अस्तित्वलाई स्वीकार गरेर समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको प्रष्ट पार्दै मन्त्री कार्कीले सार्वजनिक बिदालाई मात्रै महत्व दिन नहुने बताएका छन् ।
‘जातीय बसोबासको बाहुल्यताका आधारमा स्थानीय तहले बिदा दिन सक्छन्’, मन्त्री कार्कीले भन्नुभयो, ‘सबै स्थानीय तहले बिदा दिएनन् भनेर दुःख मनाउ गर्नु पनि हुँदैन ।’
मन्त्री कार्कीले राजवंशी जातिको जातीय संस्कारका रूपमा रहेको भक्का साझा खाजाका रूपमा विकसित भइसकेको जनाउँदै यसलाई व्यवसायिक बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने गरी लाग्नुपर्ने उनको भनाई छ ।
मन्त्र कार्कीले राजवंशी जातिबीच आपसमा भएको मतभेद, तिक्तता र विभाजनलाई रोक्ने गरी मिलेर काम गर्न सरोकारवालालाई आग्रह पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाले जातीय संस्कृति र संरक्षणका लागि नयाँ पुस्तालाई समेत सचेत बनाउँदै लैजानुपर्ने बताए ।
राजवंशी समाज विकास समितिले डोमालाल राजबंशी रङ्गशालामा विशेष कार्यक्रम आयोजना गरी आठौं राष्ट्रिय भक्का दिवस मनाएको समाजका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । उनका अनुसार भाक्का दिवसमा ५० जनाले एकै ठाउँबाट भाक्का बनाएर खुवाइरहेका छन् ।