हल्दिबारीमा एक हजार बिगाहमा तोरी खेती
नेत्र बिक्रम बिमली
हल्दिबारी । हल्दिबारी गाउँपालिकामा एक हजार बिगाहमा तोरी खेत गरिएको छ । गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती लगाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले जानकारी दिए ।
गाउँपालिका र वडा कार्यालयले अनुदानमा ४ हजार ६ सय ९० किलोग्राम तोरीको बिउ बितरण गरेको थियो । प्रति बिगाह ६५० किलोग्राम तोरी उत्पादन हुने प्रारम्भिक अनुमान कृषि शाखाले गरेको शाखाका प्रमुख छबिलाल गुरुङ्गले बताए । उनका अनुसार हल्दिबारीमा तोरी खेतीका लागि माटो समेत उपयुक्त रहेको र अहिले यहाँका किसानका खेतबारीमा तोरी फुलेर पहेँलपुर भएको छ ।
हल्दिबारी ५ का कृषक यादव नेपालले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गर्दै मुल्य र अरु बाली जस्तो झन्झटिलो नहुने भएकाले केही वर्षदेखि किसानहरुको तोरी खेतीमा आकर्षण बढ्दै गएको बताएका छन् । गत बर्ष प्रति मन ६ हजारका दरले तोरी बिक्री वितरण भएको थियो ।
तोरी उत्पादनसँगै हल्दिबारीमा एकता बहुउदेश्यीय सहकारी र प्रभात बहुउदेश्यीय सहकारीले तोरीको तेल उत्पादन, प्रशोधन र बिक्री वितरण सुरु गरेका छन् । कृषकबाट खरिद गरेर तेल उत्पादन तथा बिक्री वितरण गर्दै आएको एकता बहुउदेश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार व्यवसायीक प्रयोजनका लागि प्रति लिटर ३५० र खुद्रा प्रति लिटर ३६० का दरले तोरीको तेल बिक्री वितरण भइरहेको छ ।