शिक्षालाई आइटी र प्रविधिसँग जोडेर अघि बढौं : मुख्यमन्त्री कार्की
विराटनगर । विद्यार्थीहरुलाई उत्पादनमा जोड्ने अभियानमा विद्यालयहरु लाग्नुपर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।
झापाको दमकमा रहेको हिमालय माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आइटी र प्रविधिसँग शिक्षालाई जोडेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । उहाँले दातृ निकाय र प्रदेश सरकारसँग साझेदारीमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने बताउनुभयो । यसका लागि कोशी प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।
आइटीको तालिम लगायतका काम र आयआर्जनसँग जोड्ने काममा कोशी प्रदेश सरकारले ध्यान दिइरहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा पहाडबाट तीव्र रुपमा बसाइँसराइ भइरहेको भन्दै उहाँले यसलाई रोक्न पनि गुणस्तरीय तथा आयआर्जनसँग जोडिने गरीको शिक्षा अहिलेको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले उब्जाउयोग्य र पर्यटनको प्रचुर सम्भावना रहेको पहाडी र हिमाली क्षेत्रतर्फ बस्ती फर्काउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो । यसका लागि संघीय सरकार र दातृ निकायसँग समन्वय गरेर अघि बढ्ने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो ।
यस्तै मुख्यमन्त्री कार्कीे झापाको गौरादहमा रहेको जनता माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी हुनु भएको छ । गौरादह नगरपालिका १ मा रहेको सो विद्यालयले विद्यालयलाई सहयोग गर्ने र पूर्वशिक्षकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । सम्मानितहरुलाई विद्यालयकोतर्फबाट मुख्यमन्त्री कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो । अग्रज अभिभावक र शिक्षकहरुको कारण नै विद्यालयको उन्नयन र प्रगति भएको उहाँले बताउनुभयो ।