गायत्री माताको मन्दिर सनातनहरुको प्राण हो : पं कुवेर सुवेदी
बिर्तामोड । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पं. कुवेर सुवेदीले बिर्तामोडमा निर्माण भएको गायत्री माताको मन्दिर सनातन धर्मका लागि प्राण भएको प्रतिक्रिया दिएका छन् । उनले मन्दिरलाई गायत्री माताको दरवारको रुपमा व्याख्या गरेका छन् ।
व्यासाचार्य सुवेदीले भने– यति भव्य गायत्री माताको मन्दिर जो कोहिले निर्माण गर्न कसैले पनि सक्दैन, जसको सोचले बन्यो उहाँहरु धन्य हुनुहुन्छ । भोलीदेखि आयोजना हुन गइरहेको पाँच दिवसीय महायज्ञमा निमन्त्रणा गर्दै पं. सुवेदीले गायत्री माताको उपसना नै सर्वोत्कृष्ट उपसना भएको धारणा व्यक्त गरेका छन् । उनले एक पटकको गायत्री मन्त्र वा प्राणायमले ८० मिनेट आयु बढ्ने दावी गरे । उक्त मन्त्रले मानव मन मष्तिष्कमा उर्जा मिल्नृे बताउँदै गायत्री मन्त्र नभुल्न आग्रह गरेका छन् । उनले जनै लगाउनेहरुले पनि गायत्री मन्त्र भुल्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
भव्य र सुन्दर मन्दिर निर्माणका लागि धन्यवाद दिदैं उनले भोलीदेखि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा समेत गरेका छन् । मन्त्रहरुको आधार नै गायत्री मन्त्र हो, उनले थपे ।
कार्यक्रम संयोजक रोनक वंशलका अनुसार भोली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने कार्यक्रम छ ।
माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ भने माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने छ । दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
अढाई करोड लगानीमा निर्माण भएको मन्दिरमा दाता परिवारहरु, स्थानीय सरकार बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा रहेको छ ।
मन्दिर उद्घाटनसँगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ ।