बिर्तामोडको हर्कलाला रोडसहित तीन वटा सडकका लागि बजेट सुनिश्चित
बिर्तामोड । बिर्तामोड नगरपालिकामा रहेको हर्कलाल रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग निर्माणको लागि आवश्यक बजेट सुनिश्चित भएको छ । लामो समयदेखि समस्या झेल्दै आएको सडक निर्माणका लागि बजेट व्यवस्था भएसँगै स्थानीयबासी हर्षित भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हर्कलाला रोडका लागि ६ करोड, चन्द्र मार्गका लागि ६ करोड, गोकुल जोसी मार्गका लागि ६ करोड र झापा क्षेत्र नम्बर २ को चक्रपथ निर्माणका लागि थप ३ करोड रुपैयाँ विनियोजन भइसकेको छ ।
सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा उक्त बजेट सुनिश्चित गरिएको हो । हर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग वर्षौंदेखि जीर्ण अवस्थामा रहेको र आवतजावतमा कठिनाइ भइरहेको भन्दै स्थानीयले पटक–पटक सडक निर्माणका लागि माग गर्दै आएका थिए । सूचना अनुसार तीन वटा सडकहरु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गरिने छ ।
झापा क्षेत्र नम्बर २ का एक स्थानीय बासिन्दा भन्छन्, ‘हामीले धेरै समयदेखि यो बाटो निर्माणका लागि माग गरिरहेका थियौं । अहिले बजेट सुनिश्चित भएको खबर सुन्दा अत्यन्त खुशी लागेको छ । यो बाटो बनेपछि यात्रुहरू, विद्यार्थीहरू, व्यापारीहरू सबैलाई सहज हुनेछ । यहाँको ठुलो समस्या समाधान हुने छ ।’
नगर प्रमुख पवित्रा महतारा प्रसाईले बजेट सुनिश्चित भएसँगै समयमा नै निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यो क्षेत्रका बासिन्दाहरूले वर्षौंसम्म बाटो सुधारको प्रतीक्षा गर्नुपरेको थियो । अब बजेट उपलब्ध भएपछि हामी गुणस्तरीय निर्माण सम्पन्न गर्न कुनै सम्झौता गर्ने छैनौं ।’
बजेट सुनिश्चित भएसँगै निर्माण कार्य छिट्टै सुरु गरिने नगरपालिकाले जनाएको छ । स्थानीय तहले सम्बन्धित निकायहरूबीच समन्वय गरी कार्ययोजना बनाउने जनाएको छ ।