जेष्ठ ११, २०८२ शनिबार

सामाजिक सञ्जाललाई सभ्य र सुसंस्कृत बनाउनु पर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाललाई सभ्य र सुसंस्कृत बनाउनु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा नकारात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्य बनेको भन्दै बस्नेतले त्यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । जलन दुर्घटना जस्तो संवेदनशील विषयमा मानवीयताको ख्यालै नगरी आचारहीन र तथ्यहीन टीकाटिप्पणी हुनुलाई उहाँले असभ्यताको पराकाष्ठाको संज्ञा दिनुभएको छ ।

अध्यक्ष बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राख्नुभयो । सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरीत गाली संस्कृति हुर्किएको भन्दै तथ्यसहितका सृजनात्मक सामाग्री साझा गर्न सुझाव दिनुभएको छ । ‘नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुन्छ’, बस्नेतले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेष, फैलाउने, मनमुटाब बढाउने, जातजाति, धर्म, रीतिरिवाज र संस्कृतिबिच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युब, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा राख्नु समाजको हितमा नहुने उहाँको धारणा छ । नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै बस्नेतले आफ्नो संस्कृति आफैँ मिचेर बलवान नहुने तर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

पछिल्लो समय बेलुन दुर्घटना भई जलनमा पर्नुभएको उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका नकारात्मक सामाग्री मान संस्कार र सभ्यता विपरीत भएको उहाँको टिप्पणी छ । ‘जलन दुर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टीकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो’, उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]