प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर
शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुलाको रोग सम्वन्धी स्वास्थ्य शिविर चलाएको हो ।
स्वास्थ्य शिविरमा ३४ जनाले सेवा लिएको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ । जसमा १८ पुरुष र १६ जना महिला रहेका छन् ।
संस्थाले शिवसताक्षीमा पायल्स र फिस्टुलाको रोगीहरु रहेका र विभिन्न कारण औषधि उपचार नगराई घरमै बसेका सदस्यहरुलाई सेवा दिएको संस्थाकी व्यवस्थापक देवी दाहालले बताइन् ।
शिविरमा अभियान क्लिनिक विर्तामोडका प्रमुख डा.प्रदिपकुमार यादवसहितको प्राविधिक टोलीले सहजीकरण गरेको संस्थाले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण, विरामीले बाहिर उपचार गराउनु पर्ने अवस्थाको बारेमा परामर्श समेत दिइएको थियो ।