इटहरीमा प्रहरीद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी अभियान
इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ । चर्को आवाज निकालेर तथा स्वरुप परिवर्तन गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्नेलाई सचेतनासँगै आवश्यकताका आधारमा कारबाही गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत एक सातामा चर्को आवाज निकाल्ने तथा ट्राफिक नियम पालना नगर्ने एक सय ५९ मोटरसाइकल चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीलले भन्नुभयो, “त्यस्ता मोटरसाइकलले दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजले आतङ्कित मच्चाएको, वातावरणमा ध्वनि प्रदूषण बढाएको जनगुनासो आएपछि अभियान सञ्चालन गरी सचेतना अभिवृद्धिसँगै कतिपयलाई बारबाही गरिएको हो ।”
जथाभावी रूपमा साइलेन्सरलाई परिवर्तन गरेर चलाउने, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई इटहरी बजार क्षेत्रभित्र सञ्चालनमा कडाइ गरिएको प्रनाउ त्वातीलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारबाही परेकामध्ये एक सय ५२ मोटरसाइकलका चालकलाई साइलेन्सरपाइप फेर्न लगाइएको र बाँकी मोटरसाइकल चालकलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय इटहरी पठाइएको छ ।