०८२ चैतभित्रै महाधिवेशन गरौं : कोइराला
झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा बिर्तामोडमा शनिवार आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।
‘नेपाली कांग्रेसका लागि भोलिको मुख्य प्रतिष्पर्धी शक्ति एमाले हो’ नेता कोइरालाले भने ‘कांग्रेस सरकारको सहयोगी मात्रै हो । कांग्रेस सत्तामा छ, सरकारमा छैन । सत्ता बाहिर रहनेले गुण र दोषका आधारमा खबरदारी गरिरहनुपर्छ ।’
नेपालमा विकास र समृद्धिका प्रसस्त सम्भावना रहेको चर्चा गर्दै नेता कोइरालाले हाइड्रोपावर, कृषि उत्पादन, जडिबुटी, पर्यटन प्रवर्धन, होटल तथा ब्यवसाय लगायतका क्षेत्रमा लगानी गर्नसके आयस्तर बढाउन सकिने पनि औंल्याए । यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।
अदक्ष कामदार, दक्ष जनशक्ति र अध्ययन गरी तीन प्रकृतिमा नेपालीहरु विदेशिने गरेको चर्चा गर्दै उनले विदेशमा सिप र दक्षता हासिल गरेका ब्यक्तिहरुको सिप, क्षमता र पैसा नेपालमा लगानी गर्नसके देश विकास सम्भव भएको धारणा राखेका थिए ।
२०८२ सालको चैत मसान्तभित्रै पार्टीको महाधिवेशन गर्न सामाजिक सञ्जालमार्फत दवाव सिर्जना गर्न कार्यकर्तालाई आह्वान गर्दै नेता कोइरालाले आफू नेतृत्वमा पुगे पुराना, त्यागी एवं इमान्दार कार्यकर्ताको मूल्याङ्कन गरेर उपयुक्त अवसर दिने आश्वासन पनि दिए ।
विभागका केन्द्रीय संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले कार्यक्रमको मोडेल र हालसम्म भएका कार्यक्रमकाबारे जानकारी दिँदै अवसरको खोजीमा युवा पुस्ता विदेशिनु स्वभाविक भए पनि उनीहरुलाई स्वदेश फर्काएर सिप र सिर्जनाको उपयोग गर्ने नीति राज्यले लिनुपर्ने सुझाएका थिए ।