स्ववियुले विद्यार्थी पलायन रोक्नुपर्छ
सम्पादकीय
देशभरका विद्यार्थीहरुले चैत ५ गते आफ्नो नेता चयन गर्न मतदान गरे । विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरेका छन् । झापाको १३ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो । लगभग सबै क्याम्पसको नतिजा पनि आइसकेको छ । झापाको स्ववियु निर्वाचनको नतिजा अनुसार जिल्ला नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै क्याम्पसमा विजयी हासिल गरेको छ । पहिलो नेविसंघ र दोस्रो अनेरास्ववियु भएको छ । बिर्तामोड ९ मा रहेको गरामनी क्याम्पसमा राप्रविसंघले सभापति जितेको छ । गरामनीको सभापति राप्रविसंघको देशभरकै एक मात्र सभापति हो ।
अघिल्लो निर्वाचनको परिणाम अनुसार अनेरास्ववियुले झापामा ठुलो क्षति व्यहोर्नु परेको छ । ६ वटा क्याम्पस जितेको अनेरास्ववियुले हालै सम्पन्न निर्वाचनमा ३ वटा क्याम्पस गुमाएको छ । अनेरास्ववियुले जिल्लामा अनपेक्षित परिणाम हात परेको प्रतिक्रिया जनाइरहेको छ । झापामा स्ववियुको अघिल्लो समितिले अपवाद बाहेक काम गरेको सुनिएन । स्ववियुको गतिविधि सुनसान नै जस्तो भयो । स्ववियुको सक्रियता र सिर्जनशिलता केहि क्याम्पस बाहेक देखिन । जसका कारण विद्यार्थीहरुमा स्ववियुको चाम घटेको छ । विगत वर्षहरुमा स्ववियुको महत्व पनि थियो । किनभने, त्यो बेला स्ववियुले विद्यार्थीहरुका लागि धेरै नै काम गरेको हुन्थ्यो ।
परिणाम आउने क्रम जारी नै छ । देशभरको परिणाम आइसके पछि कुन विद्यार्थी संगठन अगाडि भन्ने भन्न सकिन्छ । अहिलेको संख्या अनुसार अनेरास्ववियु नै अगाडि छ । अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी सबै उम्मेदवारहरु विद्यार्थीहरुको निम्ति काम गर्न निर्वाचित भएका हुन् । संगठानिक दृष्टिले कसैमाथि विभेद नगरी स्ववियुले पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्नुपर्छ । अहिले विद्यार्थीहरुको पलायन बढ्दो छ । प्राविधिक शिक्षामा विद्यार्थीहरुको चाहना बढ्दो छ । सीपमुलक शिक्षा आजको आवश्यकता हो । व्यवहारिक जीवनलाई काम लाग्ने अध्ययन गर्न विद्यार्थीहरुले पाउनुपर्छ । अझ, पढ्दै कमाउदै गर्ने वातावरण कसरी तयार गर्ने हो स्ववियुको त्यस तर्फ ध्यानाकर्षण हुनुपर्छ । विद्यार्थीका तमाम समस्या, शैक्षिक संस्थाको सुधारलाई ख्याल गरेर स्ववियुले काम गर्नुपर्छ ।