सम्पादकीय

सहकारीका कर्मचारीम धम्क्याउनेलाई कारबाही गर

सहकारीका कर्मचारीम धम्क्याउनेलाई कारबाही गर


सम्पादकीय

झापाको बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ऋणी सदस्यले ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ । सहकारी संस्थाबाट ऋण लिएर नतिरेका ऋणी खगेन्द्र क्षेत्रीले कार्यकारी प्रमुख पौडेललाई कत्ती हानेर मार्ने धम्की दिएको घटना सहकारी संस्थाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ऋण असुलीका लागि ताकेता गरेको विषयमा क्षेत्रीले कार्यकारी प्रमुख पौडेललाई धम्की दिएका छन् । ऋण असुलीका लागि गएका सञ्चालक समितिका पदाधिकारीलाई समेत उनले धम्क्याउँदै आएका थिए । सहकारी संस्थाबाट ऋण लिने, आपतमा परेका बेला ऋणका लागि हारगुहार गर्ने र तिर्ने बेलामा आनाकानी गर्ने कतिपय ऋणीको रवैया खेदजनक छ । यति मात्र होइन, कतिपय ऋणी धाक धम्कीमा उत्रिने गरेका छन् । क्षेत्रीले गरेको हर्कत यही सेरोफेरोमा केन्द्रित छ ।

सहकारी संस्थाले आफ्ना सदस्यहरूबाट संकलन गरेको बचत अर्को सदस्यका लागि लगानी गरेको हुन्छ। केही लगानी गरिएको ऋण रकम असुली नहुँदा बचत फिर्तामा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा सहकारी संस्थाले समयमा ऋण तिर्न ऋणी सदस्यलाई ताकेता गर्नु, छलफलका लागि बोलाउनु वा पत्राचार गर्नु स्वभाविक प्रक्रिया हो । ऋण लिएर सम्पर्कमा नआउने, भेट्न जाँदा धम्क्याउने र ज्यान लिने सम्मको धम्की दिने कुनै पनि ऋणी सदस्यको रवैया स्वीकार्य छैन । हुनुहुँदैन । त्यस्ता ऋणी सदस्यलाई कानुनत कारबाहीको दायरामा ल्याएर असुली प्रक्रियालाई सहज बनाउने काममा स्थानीय प्रशासनले सहयोग गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा पनि हुन्छ भन्ने एकथरी नारा र उर्दी चलिरहेको छ । वित्तीय संस्थाको ऋण रकम नतिर्ने भन्नु वा अभियान चलाइनु सबैभन्दा ठूलो वित्तीय अपराध हो । यस्तो अवस्थामा राज्य संयन्त्र कानमा तेल हालेर बसेजस्तो गरिरहेको छ । एकातिर सहकारी संस्थाहरूलाई कडाई गर्ने, ऋण असुली प्रक्रियामा संस्थाहरूलाई सहयोग नगर्ने, केवल वासलातका आधारमा राजस्व तिराउने काममा मात्रै राज्यका निकायहरूले ध्यान दिइरहेका छन् । समग्रमा सहकारी संस्था एउटा विश्वास हो, त्यही विश्वासको जगमा ऋणीले गरेको बचत रकमका आधारमा सहकारी संस्थाहरुले ऋण प्रवाह गरेका छन् ।

बैंकसम्म पहुँच पुर्‍याउन नसक्ने सदस्यका लागि सहकारी संस्थाहरू वरदान साबित भएका छन् । तर, सहकारी संस्थाको ऋण नतिर्ने मनोगत प्रवृत्तिबाट ग्रसित भएकाहरूलाई राज्यका कुनै पनि निकाय र कानुनले छोड्नु हुँदैन । संस्थागत सुशासन कायम गर्दै अगाडि बढ्नुको विकल्प नभएका बेला धाक धम्कीका घटना आइरहेका छन् । यस्तो अवस्थामा राज्यका निकायहरूले गम्भीर र चनाखो भएर सोच्नुपर्छ । धौलागिरी सहकारीको यो प्रकरणमा केवल पौडेल मात्रै धम्काइएका होइनन्, समग्र सहकारी अभियानलाई धम्क्याउन खोजिएको हो । यस प्रकारका धम्की, त्रास र चुनौतीलाई पार गरेर अगाडि बढ्न सक्ने तागत झापाको सहकारी अभियानसँग छ । सदस्य संस्थाहरूसँग छ। कोही कसैले पनि सहकारीबाट लिएको ऋण तिर्दिन भनेर नउफ्रिए हुन्छ । एकदिन दुई दिन ढाँट्न वा छल्न सकिएला । तर, लिएको ऋण कुनै न कुनै हिसाबमा असुली भएरै छोड्छ ।

शेयर गर्नुहोस :

108
Shares