बेमेल अन्त्यका लागि युवाको नेतृत्वदायी भूमिका जरुरी
सम्पादकीय
युवालाई राष्ट्रको मेरुदण्डका रूपमा लिइन्छ । समाज परिवर्तन र राष्ट्रको विकासका आधार खम्बाका रूपमा समेत युवा चित्रित छन् । नवीनतम आयामको संवाहकका रूपमा समेत युवा परिचित छन् । विज्ञान तथा प्रविधिको युगमा युवाहरूको आफ्नै जागरण, उत्प्रेरणा र उपस्थिति छ । सचेत र जिम्मेवार नागरिकका रूपमा युवाले समाज रूपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आशा र भरोसाको केन्द्रका रुपमा काम गर्न सक्छन् । युवाहरू सचेत र जिम्मेवार छैनन् भने कुनै पनि देशको प्रगति सम्भव छैन । अहिलेका लागि युवा सचेतना महत्वपूर्ण विषय हो । आफूमा भएको ज्ञान, सीप र ऊर्जालाई राष्ट्र निर्माणमा लगाउने प्राथमिक दायित्व युवाको काँधमा छ ।
समाजका हरेक क्षेत्रमा युवाले आफूलाई समर्पित गर्न सक्छन्, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् र गतिशील तथा प्रभावकारी ढंगले आफ्नो उपस्थितिलाई गौरव र गरिमाका रुपमा दर्ज गर्न सक्छन् भन्ने मान्यता राखिन्छ । सामाजिक एकता कायम गर्ने सन्दर्भमा समेत युवाले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । आपसी विभेद, कटुता र परस्परमा रहेको बेमेल अन्त्यका लागि समेत युवाको नेतृत्वदायी भूमिका हुन्छ । समाज रूपान्तरणका लागि आर्थिक, सामाजिक मुद्दामा केन्द्रित भएर बहस पैरवी गर्न सक्ने सामर्थ्य भएको एउटा जमात युवा हो । लागू औषधको कुलतबाट मुक्त भएर युवाहरुले आफूलाई अशिक्षा, गरिबी, जातिय भेदभाव लैङ्गिक असमानता हटाउने कार्यमा केन्द्रित गर्न सक्नुपर्छ ।
राजनीतिक परिवर्तनको आन्दोलनमा युवालाई प्रयोग गर्ने चलन पनि छ । केवल प्रयोग मात्रै होइन, जनहितका कार्यमा समेत उनीहरूले आफूलाई समर्पित गराउन सक्नुपर्छ । युवाहरूले राजनीतिक चेतनाका साथ सही ढङ्गले मताधिकारको प्रयोग गर्न सक्ने हो भने समाज परिवर्तन हुन धेरै समय कुर्नु पर्दैन । जिम्मेवार, जवाफदेही र गतिशील नेतृत्व चयन गर्ने सन्दर्भमा समेत युवाले विवेक पुर्याउन सक्नुपर्छ । अहिलेको डिजिटल युगमा प्रविधिको प्रयोगलाई विस्तार गर्दै लैजाने सन्दर्भमा समेत युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् ।
आर्थिक रूपान्तरणका कार्यक्रममा सहभागी हुने, उद्यमशीलताको विकास गर्ने, सकारात्मक सोच र धारणा प्रवाह गर्ने, स्वास्थ्य र जीवनशैलीमा सुधार ल्याउने लगायतका कामलाई युवाले प्राथमिकता दिने बेला भएको छ । आफूलाई तोडफोड, हुल हुज्जत र आन्दोलनका मोर्चामा मात्रै सीमित नराखी स्वयंसेवा र सामाजिक कार्यमा समेत युवाले आफूलाई सक्रिय गराउने बेला आइसकेको छ । युवाको जागरुकता र सक्रिय सहभागिताबिना समृद्ध समाज, उन्नत र गतिशील राष्ट्रको परिकल्पना गर्न सकिँदैन ।