बैशाख २०, २०८२ शनिबार

सिलाईमा जमेका सुवास

बिर्तामोड । अध्ययनका शिलशिलामा झापाको बिर्तामोड झरेका पाँचथर हिलिहाङ –२ सिंगापुरका सुवास तिखत्री अहिले सिलाई व्यवसायमा क्रियाशिल छन् । कक्षा १२ सम्मको अध्ययन सकेर बिर्तामोड आएका उनलाई बजार क्षेत्रको व्यापार र ठुला घरहरु देखेर पैसा कमाउने हुटहुटी सुरुमै चल्यो ।

०६९ सालमा बिर्तामोड आएका उनी अध्ययन भन्दा पनि आर्थिक उपार्जन तिर केन्द्रीत भए । बजारमा सबैको ठुलठुला घर व्यापार देखेर पहिले कमाउनु पर्ने भन्ने सोचले उनलाई वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य बनायो । शुक्रवार कनकाई रोडस्थित आफ्नै पसलमा कोट सिलाउन कपडा काटिरहेको अवस्थामा भेटिएका तिखत्रीले झापा झरेको बेलाका कहानी सुनाए ।

सुवास भन्छन्, बजार देखेर त पहिले पैसा नै कमाउनु पर्ने रहेछ भन्ने लाग्यो । विदेश जान भनेर काठमाडौंमा पासपोर्ट पनि पेशे । मेनपावरले अवैध बाटो देखाएपछि २ वर्ष काठमाडौं बसेर फर्किए । पासपोर्ट फिर्ता मागेर १ लाख ६० हजार रुपैयाँ छोडर फर्किए । त्यसपछि सुवासलाई पछाडि फर्किनु परेको छैन । काठमाडौं बसाईपछि बिर्तामोड आएका उनले स्टाइल टेलर्समा काम सिकेको बताए । स्टाइलमा कालिगड काम गरेका सुवासले ०७१ मा आफै न्यू सरगम टेलर्स सञ्चालनमा ल्याएको सुनाउछन् । सुरुमा दुई वटा मेसिन र १ थान इन्टरलक राखेर काम थालेका उनले अहिले प्रत्यक्ष १० जनालाई रोजगारी नै दिएका छन् । १० वर्षमा कपडासहित सिलाई बुनाईको काम गरिरहेका सुवास न्यू सरगम सर्टिङ सुटिङ एण्ड टेलरिङ सेन्टर सञ्चालन गरिहेका छन् ।

म आफै कपडा काट्छु, आवश्यकता अनुसार सिलाउन पनि समय दिन्छु, उनले भने – विशेष गरी कोट पाइन्ट, दौरा सुरुवालसहित सबैजसो नेपाली पोसाक सिलाउने गरेको छौं । ताप्लेजुङ, तेह्रथुमसम्मका ग्राहकलाई सेवा प्रदान गर्दै आएको उनको भनाई छ । भविष्यमा सिलाई कटाईका लागि राम्रो तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएका उनले नयाँ प्रविधिको प्रयोग र पेशालाई आधुनिक बनाउन आवश्यक रहेको बताए ।

३३ वर्षीय तिखत्री स्वदेशमा धेरै संभावना रहेको बताउछन् । सीप भएको मान्छेका लागि स्वदेशमा राम्रै भविष्य छ , उनी भन्छन् – सरकारले यहाँ व्यापार व्यवसाय गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ । स्वदेशमै भविष्य बनाउन चाहनेका लागि साथ सहयोगको जरुरी पर्छ ।

युवा उमेरमा सिलाईको क्षेत्रमा जम्न सफल भएका सुवासले अब जीवन धान्नका लागि विदेश जानुपर्ने बाध्यता हटेको सुनाए ।

सिलाईसँगै सामाजिक क्षेत्रमा समेत आवद्ध उनी वीरता जेसीजको सहसचिव र नौमति सगुन समाजको अध्यक्षको रुपमा क्रियाशिल रहेका छन् । दलित समुदायको आर्थिक जीवनमा उन्नति हुनुपर्ने उनको मान्यता रहेको छ । सीप सिकेर, मेहनत गर्न सके आर्थिक जीवनमा सुधार ल्याउन सकिने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]